समाचारबिहीबार, पौष १७, २०७१
सभाध्यक्ष नेम्वाङले भने, ‘तपाइँहरु सक्नुहुन्न भने म मस्यौदा तयार पार्छु’
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले शीर्ष नेताहरुबीच सहमति नजुटे संविधानको मस्यौदा लेख्ने जिम्मेवारी अाफुलाई दिन आग्रह गरेका छन् ।
कांग्रेस, एमाले, एमाओवादी र मधेश केन्द्रित दलका मोर्चाका प्रमुखहरुसँग १७ पुसमा यस्तो प्रस्ताव राखेका हुन् । ८ माघ नजिकिदै गएका बेला सभाध्यक्ष नेम्वाङले कार्य व्यवस्था परामर्स समितिको बैठक बोलाएका थिए ।
बैठकको शुरुमै नेम्वाङले चार दिनभित्र सहमति कायम गर्ने वा आफुलाई मस्यौदा लेख्ने जिम्मेवारी दिनुपर्ने प्रस्ताव राखेका थिए ।
उनले छोटो समयमा संविधान जारी गर्दा आउने दोषलाई आफूले विष पिएसरह पचाउन पनि तयार भएको बताए । नेम्वाङले सहमतिको प्रयास र प्रक्रियागत कार्यलाई एकैसाथ अघि बढाउन प्रस्ताव गरेका थिए ।
तर, दलका नेताहरुले छलफलमा कुनै निकास निकालेनन् । बरु, उल्टो एकापसमा आरोप–प्रत्यारोप गरेर निस्किए ।
१० पुसमा सहमतिको विकल्प प्रस्ताव गर्नेगरी २ दिनको समय दिएर बनाएको कार्यदलले कुनै प्रतिवेदन दिन नसकेपछि सभाध्यक्ष नेम्वाङले १४ पुससम्म सहमति कायम गर्ने समय दिएका थिए ।

