थप समाचारशुक्रबार, पौष १८, २०७१
न्यूयोर्कमा नयाँ वर्ष घोषणामा नेपाली किशोरी सहभागी
ङिमा पाख्रिन, न्यूयोर्क
नयाँ वर्ष सन् २०१५ को पहिलो दिन न्यूयोर्कबाट प्रकाशित छापाहरुमा १६ वर्षीया नेपाली किशोरी सोनाम लामा समाचार बनिन् ।

तस्वीर: काउन्ट डाउन ईन्टर्टेन्मेन्ट
न्युयोर्कको केन्द्र मानिने टाइम्स स्क्वायरमा हरेक वर्ष आयोजना हुने न्यूइयर इभ उत्सवमा गरिने ‘वाटरफोर्ड क्रिस्टल बल ड्रप काउन्ट डाउन’को लागि स्वीच थिच्न यसपटक सोनाम र दक्षिणी सुडानका दुईजना आप्रवासी छानिएका थिए ।
सन् २०१५ न्यूइयर इभ उत्सवको अफिसियल च्यारिटी पार्टनर दि इन्टरनेशनल रेस्क्यु कमिटी (आईआरसी) ले सोनामलाई नयाँ वर्षको घोषणा गर्ने काउण्ट डाउनको स्विच अन गर्न अवसर प्रदान गरेको थियो ।
न्यूयोर्क आप्रवासीहरुको शहर भएकोले सम्मानमा आप्रवासीहरुलाई नै यो कामको लागि अघि सारिएको आईआरसीका प्रेसिडेन्ट एवं सिईओ डेभिड मिलिब्यान्डले बताए ।
यो संस्थाले युद्धपीडितहरुको उद्धार गरी उनीहरुलाई सुरक्षित ठाउँमा बसोबासको व्यवस्था मिलाउँछ। सोनाम पनि सन २०१२ मा आइआरसीकै सहयोगमा आफ्ना पितालाई भेट्न न्युयोर्क आएकी हुन् । उनी हाल क्वीनस्थित हाई स्कूलमा अध्ययन गर्दैछन् ।
चर्चित सेलिब्रिटी र लाखौं दर्शक माझ गरिने ‘क्रिस्टल बल ड्रप स्वीच थिच्नका लागि निम्त्याइनुलाई अमेरिकामा ठूलै सम्मान मानिन्छ ।
” जीन्दगीमा कहिल्यै नसोचिएको आश्चर्य प्राप्त भएको छ,” सोनामले भनिन् ।
नयाँ वर्ष शुरु हुने मध्यरातमा न्युयोर्कको टाइम्स स्क्वायरको क्रिष्टल बल ड्रप विश्वप्रख्यात छ । यो उत्सव हेर्न अमेरिकाभर र अन्य देशबाट समेत लाखौं मान्छे न्युयोर्कको टाइम्स स्वाक्यरमा भेला हुन्छन् जसको टेलिभिजनहरुले प्रत्यक्ष प्रशारण गर्छन् ।
यसपटक टाईम्स स्क्वायरमा जेनी म्याकर्थे, टेलर स्वीफ्ट, आईडिना मेन्जल, जेनकार्लोस क्यानेला लगायतले प्रस्तुती दिएका थिए ।
सोनामलाई स्वीच दवाउन क्युबेन-अमेरिकन कलाकार जेनकार्लोस क्यानेलाले साथ दिए । स्थानीय समयानुसार रातको ठीक १२ बज्नु एक मिनेट अगाडी उनीहरुले संयुक्त दबाएको स्वीचले बल बिस्तारै तलतिर खस्न शुरु भइ काउन्ट डाउन शुरु हुन्छ ।
