समाचारआइतबार, आश्विन २८, २०६९
सीजी इलेक्ट्रोनिक्समा भीषण आगलागी
आगो नियन्त्रणमा आए पनि भित्रबाट धुवाँ आउने क्रम जारी रहेकोले बिहान पनि तीन वटा दमकल आगो निभाउन खटिएका छन् ।
चौधरी समूहको टेलिभिजन, रेफ्रिजिरेटर, मोबाइल लगायतका सामान बनाउने कारखाना रहेको उक्त भवनको आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको प्रयास जारी छ ।
इलेक्ट्रोनिक सामानमा लागेको आगो निभाउन गाह्रो भएको हो । आज अपरान्हसम्ममा आगो पूरै नियन्त्रणमा आउने दमकलका कर्मचारीले जानकारी दिएका छन् ।
भवनमा रहेका करिब सबै जसो मेशिन र उत्पादन लगायतका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागी भएको भवन वरपर केही खुला स्थान रहेकोले आगो अन्यत्र फैलन भने पाएन । आगलागीको कारण र क्षतिबारे चौधरी समूहले आधिकारिक रुपमा केही जनाएको छैन । आगलागीबाट अरबौको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
