समाचारशुक्रबार, पौष १८, २०७१
प्रक्रियाबाट संविधान जारी गर्नेतर्फ कांग्रेस अघि बढिसक्योः उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले संविधानका विवादित विषयमा दलहरुबीच सहमति नभए प्रक्रियामा गएर भएपनि ८ माघमा संविधान जारी गरिने बताएका छन् ।
काँग्रेसको केन्द्रीय दलित विभागद्वारा १८ पुसमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित अन्तक्र्रिया तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै उपप्रधानमन्त्री सिंहले आफ्नो पार्टी नेपाली कांग्रेस ८ माघमा लोकतान्त्रिक संविधान जारी गर्ने गरी अघि बढेको बताएका हुन् ।
सिंहले संविधान जारी गर्न अब २१ दिन मात्र बाँकी रहेको र दुईतीन दिनमै विवादित विषयमा सहमति नभए निर्धारित मितिमै संविधान जारी गर्न आफ्नो पार्टीले नियमावलीअनुसार प्रक्रियामा जाने निर्णय गरेको जानकारी दिए ।
स्थापनाकालदेखि नै आफ्नो पार्टी दलित एवम् उत्पीडितका पक्षका रहेको बताउँदै काँग्रेस महामन्त्री सिंहले दलितप्रतिको विभेद्कारी नीतिका विरुद्ध काँग्रेसले घोषणापत्रमा उल्लेख गर्नुका साथै पार्टीको तल्लो इकाइसम्म दलित उत्पीडित वर्गको अनिवार्य प्रतिनिधित्व हुने व्यवस्था गरेको बताएका थिए ।
