थप समाचारशनिबार, पौष १९, २०७१
के संसारबाट धर्म लोप होला ?
विश्वभरमै नास्तिकता बढिरहँदा के भविष्यमा धर्म ‘विगतको कुरा’ होला ? यो प्रश्नको उत्तर पाउन निकै गाह्रो छ ।

छठ पूजाका अवसरमा हिन्दु भक्त । तस्वीर: गेट्टी इमेजेज
क्यालिफोर्नियाको क्लेरमोन्टस्ति पिटजर कलेजमा सामाजिक विज्ञानका प्राध्यापक फिल जकरम्यान भन्छन, “अहिले संसारभर नै नास्तिकहरुको संख्या बढ्दो छ ।”
ग्यालप इन्टरनेशनल सर्वेले ५७ देशका ५० हजारभन्दा बढी व्यक्तिमा गरेको सर्वेक्षणले संसारमा नास्तिक (इश्वरको अस्तित्व अस्वीकार गर्ने) को संख्या बढ्दै गएको देखाएको छ ।
सर्वेका अनुसार सन् २००५ देखि २०११ को अवधिमा धर्म मान्नेहरुको संख्या ७७ प्रतिशतबाट घटेर ६८ प्रतिशतमा झरेको छ भने आफूलाई नास्तिक भन्नेहरुको संख्यामा तीन प्रतिशतको बढोत्तरी भएको छ । यसरी संसारमा नास्तिकहरुको संख्या बढेर १३ प्रतिशत पुगेको छ ।
उसो भए के नास्तिकहरुको संख्यामा वृद्धि हुँदै जाँदै कुनै दिन यो पृथ्वीबाट धर्म हराउला ?
सुरक्षाको अनुभूति

कम्बोडियाका बौद्ध भिक्षुहरु । तस्वीर: गेट्टी इमेजेज
धर्मको मुख्य आकर्षण भनेको यसले अनिश्चित संसारमा सुरक्षाको अनुभूति दिन्छ । कोही नहुँदा भगवान त छ भन्ने भावना धार्मीक व्यक्तिहरुमा हुन्छ । त्यसैले पनि होला नास्तिकहरुको वृद्धि त्यस्ता देशहरुमा भएको छ जुहाँ राज्यले आफ्ना नागरिकहरुलाई आर्थिक, राजनीतिक र अस्तित्वको अधिक सुरक्षा दिन्छन् ।
जापाना, क्यानाडा, दक्षिण कोरिया, नेदरल्याण्ड्स, चेक गणराज्य, एस्टोनिया, जर्मनी, फ्रान्स, उरुग्वे यस्ता देशहरु हुन् जहाँ एकसय वर्षअघि धर्म निकै महत्वपूर्ण हुन्थ्यो तर, अब यि देशहरुमा इश्वर मान्नेहरुको संख्या तुलनात्मक रुपमा कम छ ।
यि देशहरुमा शिक्षा र सामाजिक सुरक्षाको व्यवस्था निकै दह्रो छ, विभेद कम छ र मानिसहरु अपेक्षाकृत धेरै धनी छन् ।
न्यूजिल्याण्डको अकल्याण्ड विश्वविद्यालयका मनोवैज्ञानिक एटकिन्सन भन्छन, “वास्तवमा, मानिसहरुलाई भविष्यको चिन्ताले सताउन छोडेको छ ।”
तर धर्ममाथिको आस्था त्यतो समाज र देशमा पनि घटेको छ जहाँका मानिहरु खासै धार्मिक मानिन्छन्, जस्तै– ब्राजिल, जमैका र आयरल्याण्ड ।
प्राध्यापक फिल जकरम्यान भन्छन, “विश्वमा निकै थोरै त्यस्ता समाज छन् जहाँ पछिल्लो ४० देखि ५० वर्षमा धर्मप्रति आस्था थपिएको होस । एउटा अपवाद इरान हुनसक्छ तर, वास्तविक अनुमान गर्न भने गाह्रो छ किनकी धर्मनिरपेक्ष मानिसहरुले आफ्नो विचार नखुलाएका पनि हुनसक्छन् ।”
भ्यानकुभरस्थित ब्रिटिश कोलम्बिया विश्वविद्यालयका सामाजिक मनोविज्ञानी एरा नोरेनजायन भन्छन, “धर्मप्रतिको आस्थामा कमीको अर्थ धर्म हराउनु हैन ।”
दुख बढ्नेछ

रमदानका बेला मेहदी लगाएको हात देखाउँदै यमनका महिला । तस्वीर: गेट्टी इमेजेज
आउँदा वर्षहरुमा जलवायु परिवर्तनको संकट गहिरिंदै जाँदा र प्राकृतिक स्रोत–साधनमा कमी आएपछि, पीडितको संख्या बढ्नेछ र धार्मिक भावनामा बढोत्तरी हुनसक्छ ।
नोरेनजायन भन्छन, “मानिसहरु दुखबाट पार पाउन चाहन्छन, तर यदि उनीहरु दुखबाट बाहिरिन सकेनन् भने त्यसको अर्थ खोज्न थाल्छन् । केही कारणहरुले गर्दा धर्मले पीडालाई अर्थ दिन थाल्छ ।”
उनका अनुसार संसारका दुखपीडा चामत्कारिक तरिकाले समाधान भए र हामी सबै शान्तिपूर्ण तरिकाले समान जीवन विताउन थाल्यौं भने पनि धर्म हाम्रै वरपर रहिरहनेछ ।
यस्तो किन पनि हुन्छ भने मानव विकासका क्रममा हाम्रो दिमागमा उत्पन्न भएको इश्वरप्रतिको जिज्ञासा हाम्रो नर्भस सिस्टममा अझै पनि कायमै छ ।
दोहोरो व्यवस्था
यसलाई बुझ्न दोहोरो प्रक्रियाको सिद्धान्तलाई बुझ्नु जरुरी छ । यो मनोवैज्ञानिक विषयले के भन्छ भने आधारभूत रुपमा हाम्रा दुईवटा विचार प्रणाली हुन्छन्– सिस्टम एक र सिस्टम दुई
सिस्टम दुई पछिल्लो चरणमा विकास भएको हो । यो हाम्रो मस्तिस्कको आवाज हो र मस्तिस्कमा बारम्बार गुञ्जायमान हुन्छ र कहिलेकाहीं बन्द पनि हुन्छ । जसले हामीलाई योजना बनाउन र तार्किक रुपमा सोच्न बाध्य बनाउँछ ।
अर्कोतर्फ सिस्टम एक, सहज, स्वभाविक र स्वचालित हुन्छ । यी क्षमताहरु मानिसमा नियमित रुपमा विकसित भइरहेका हुन्छन्, यसले मानिस कहाँ जन्मेको हो भन्ने कुराले केही फरक पार्दैन ।
सिस्टम एक अनुसार हामी धेरै प्रयास नगरिकनै आफ्नो मातृभाषामा कुरा गर्न सक्छौं, यसले शिशुलाई आमा–बाबुसँग चिनाउने तथा सजीव र निर्जीव वस्तुबीचको फरक थाहा पाउने जस्ता क्षमता दिन्छ ।
यसले संसारलाई राम्रोसँग बुझ्ने, प्राकृतिक विपत्ति या आफन्तको मृत्युका घटनाबारे बुझ्न र प्रतिक्रिया दिन मद्दत गर्छ ।
धर्मबाट छुटकारा

गुरुद्वाराअगाडि दिप बाल्दै शिख धर्माबलम्बी । तस्वीर: गेट्टी इमेजेज
नास्तिकहरुलाई नास्तिक बन्न वा रहिरहनका लाग अनेकौं सांस्कृतिक र मानव विकाससँग जोडिएका बन्धनविरुद्ध संघर्ष गर्नुपर्छ । मानिसहरु स्वभाविक रुपमै आफू ठूलो तस्वीरको भाग भएको र जीवन पूरै निरर्थक नभएको मान्न चाहन्छ ।
हाम्रो मन, उद्देश्य र स्पष्टीकरका लागि लालायित रहन्छ ।
‘बर्न बिलिभर्स’ का लेखक जस्टिन ब्यारेट भन्छन, “धर्मलाई मान्दा धेरै सोच्नु पर्दैन, समाजसँग प्रतिरोध गर्नु पर्दैन, यो पाथ अफ लिस्ट रेजिजटेन्स हो । तर धर्मबाट अलग हुनका लागि तपाइँलाई मानवतामा शायद केही मुलभूत परिवर्तन गर्नु पर्ने हुनसक्छ ।”
सर्वेक्षणमा २० प्रतिशत अमेरिकी कुनै चर्चसँग सम्बद्ध थिएनन्, तर उनीहरुमध्ये ६८ प्रतिशतले आफूमा इश्वरप्रति विश्वास भएको बताए भने ३७ प्रतिशले आफूलाई धार्मिक भने ।
यसैगरी संसारभरमा जसले आफूलाई इश्वरमाथि विश्वास नभएको प्रस्टसँग भने उनीहरुमा पनि भूत, ज्योतिष, कर्म, टेलिप्याथी, पुनर्जन्म जस्ता कुनै कुनै अन्धविश्वासको प्रवृत्ति पाइयो ।
धर्मले समूह सामञ्जस्य र सहयोगलाई बढावा दिन्छ । कथित लक्ष्मण रेखा नाघ्नेहरुलाई सर्वशक्तिमान ईश्वरको आँखाले पूरानो समाजलाई व्यवस्थित राख्न सहयोग गथ्र्यो ।
एटकिन्सन भन्छन, “यो अलौकिक र सजायको परिकल्पना हो । यदि सबैले सजाय वास्तवमा अहिल्यै पाइन्छ भन्ने ठानेपछि यसले पूरा समाजका लागि काम गर्छ ।”
विश्वास
अन्त्यमा धर्मको बानीका पछाडि केही गणित पनि हुन्छ । धेरै धार्मिक समाजका मानिसहरु धर्मप्रति आस्था नराख्नेहरुभन्दा बढी सन्तान जन्माउँछन् ।
विशेषज्ञहरुका अनुसार मनोवैज्ञानिक, स्नायु विज्ञान, ऐतिहासिक, साँस्कृतिक र तार्किक, यी सबै कारणहरुलाई ध्यानमा राख्दा धर्म शायद कहिल्यै पनि मानिसहरुबाट टाढा जाने छैन । धर्म चाहे त्यो डरले वा प्रेमले मानिएको होस आफू अस्तित्वमा रहिरहन सफल छ । त्यसो नहुँदो हो त यो शायद हामीसँग हुने थिएन ।
-रेशल नुवेर, बीबीसी
