थप समाचारशनिबार, पौष १९, २०७१
सप्तरीः तीन बालबालिकाको शव फेला
सप्तरीको बैरवा गाविसस्थित कोसी नदी छेउमा तीन जना बच्चाको शव फेला परेको छ ।
बैरवा गाविस– ३ नजिक सप्तकोशी नदीको पश्चिम तटबन्धको पूर्वतर्फ जमेको पानीमा तीनै जना बच्चालाई हत्या गरेर फालेको अवस्थामा भेटिएको र कसैको पनि सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
घटनास्थल पुगेका सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी केदार ढकाल नेतृत्वको टोलीले पानीबाट बच्चाहरुको शव निकालेर पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याएको छ ।
डिएसपी ढकालका अनुसार ६ बर्षीय बालक, तीन बर्षीया बालिका र ६ महिनाकी बालिकाको शव फेला परेको हो । तीनै जनाको शरीरको विभिन्न भागमा चोट लागेको छ ।
प्रहरीले घटना स्थलबाट एउटा विषको सिसी, एक थान साडी र महिलाको एक जोडी चप्पल फेला परेको जनाएको छ । कसैले तीनै जनाको बच्चाको हत्या गरी फालेको हुन् सक्ने अनुमान प्रहरीको छ ।
डीएसपी ढकालले घटनाको अनुसन्धान भईरहेको बताएका छन् ।
श्रवणकुमार देव, राजविराज
