समाचारआइतबार, पौष २०, २०७१
जनताको हितमा संविधान जारी गरे आपत्ति छैनः यादव
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताको हितमा बहुमतीय प्रक्रियाबाट संविधान जारी गरे पनि आपत्ति नहुने बताएका छन् । पर्सामा २० पुसमा आयोजित पत्रकार सम्मेलनमा उनले सत्तारुढ दलले सम्पूर्ण जनताको भावना सम्बोधन हुने गरी बहुमतीय प्रक्रियाबाट संविधान जारी गरे आफूहरुलाई आपत्ति नहुने बताएका हुन् ।
उनले यदि जनताको भावनालाई सम्बोधन हुने गरी संविधान जारी नभएमा जनता आफैंले संविधान लेख्ने चेतावनी दिए । “माघ ८ गते नै संविधान आउने सम्भावना कम छ,” उनले भने ।
सहमतिको नाममा नाटक मात्रै भइरहेको उनको टिप्पणी छ । उनले सार्थक वार्ता भएको खण्डमा मात्र संविधान जारी गर्न सकिने बताए ।
आफूहरु समग्र मधेश स्वायत्त प्रदेशकै पक्षमा रहेको दाबी गर्दै उनले विगतमा भएका सबै सम्झौता कार्यान्वयनमा सरकारले चासो नदिएको आरोप लगाए ।
रासस
