समाचारआइतबार, पौष २०, २०७१
डडेल्धुरा सदरमुकामको आगलागी ११ घन्टापछि नियन्त्रणमा, अर्बौंको क्षति

तस्वीर: छत्र साउद
शनिबार राति डडेल्धुरा सदरमुकाममा भएको भीषण आगलागी ११ घन्टापछि नियन्त्रणमा आएको छ । आगलागीका कारण डडेल्धुरा सदरमुकाममा अर्बौंको क्षति भएको अनुमान गरिएको छ ।
सदरमुकाम बागबजारको मध्यभागमा रहेको एउटा पसलबाट शुरु भएको आगलागीले ६ वटा घर तथा गोदामसहित १४ वटा पसल जलेर नष्ट भएका छन् । शनिबार राति करिब १ बजेदेखि शुरु भएको आगलागी आइतबार ११ बजेमात्रै नियन्त्रणमा आएको हो । आगलागीका कारण अर्बौंको क्षति भएको व्यवसायीहरूले जनाएका छन् ।
क्षतिको यकिन विवरण सङ्कलनका लागि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सर्वपक्षीय बैठकमार्फत आइतबार कार्यदल गठन गरेको छ । “ठूलो मात्रामा क्षति भएको छ,” प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले भने, “यकिन विवरण सङ्कलनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा टोली गठन गरेका छौँ, सङ्कलनपछि यकिन विवरण आउँछ ।”
आगलागी विद्युत् चुहावटका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
आगलागी नियन्त्रणका लागि अमरगढी नगरपालिका डडेल्धुराको दमकलसँगै दशरथचन्द्र नगरपालिका बैतडी र दिपायल सिलगढी नगरपालिका डोटीको दमकल प्रयोग गरिएका थिए ।

तस्वीर: छत्र साउद
त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दाको निरन्तरको प्रयासका कारण आगलागी नियन्त्रणमा आएको हो । आगो निभाउन दुईवटा डोजरसमेत प्रयोग गरिएका थिए ।
“व्यापक सुरक्षाकर्मीसहित दमकल र डोजर प्रयोगपछि आगलागी नियन्त्रणमा आएको हो,” प्रहरी नायब उपरीक्षक योगेन्द्रबहादुर थापाले भने, “स्थानीय बासिन्दाको पहलले पनि आगो निभाउन सजिलो भयो ।”
ग्यास सिलिन्डर पड्किएका कारण आगलागी बढेको प्रत्यक्षदर्शीको भनाइ छ ।
