समाचारआइतबार, आश्विन २८, २०६९
कालो झण्डा देखाउनेमाथि लाठी प्रहार

प्रहरीको लाठीबाट घाइते भएका अनेरास्ववियुका केन्द्रीय सदस्य दुर्गानन्द ठाकुर । तस्बीरः श्रवणकुमार देव
श्रवणकुमार देव, सप्तरी
२८ असोजमा सप्तरी आएका प्रधानमन्त्रीलाई अनेरास्ववियु र नेविसंघका कार्यकर्ताहरुले रुपनी मोड, गजेन्द्र चोक, मिनी मार्केटलगायतका ठाउँमा कालो झण्डा देखाएका थिए ।
गजेन्द्र चोकमा कालो झण्डा देखाउने एमाले निकट अनेरास्ववियूका केन्द्रीय सदस्यद्वय दुर्गानन्द ठाकुर र अखिलेश झालाई प्रहरीले घिसार्दै, कुटपिट गर्दै प्रहरी कार्यालयमा लगेको अनेरास्ववियूले जनाएको छ ।
कुटपिटबाट घाइते भएका दुर्गानन्दको अवस्था गम्भीर छ । दुबैको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको छ ।
घटनाको विरोध गर्दै एमाले सम्बद्ध भ्रातृ संगठनहरुले दुई घण्टा राजविराजस्थित रुपनी रोडमा चक्काजाम गरे । चक्का जामका क्रममा गरिएको कोण सभामा दोषी प्रहरीमाथि कार्वाही नगरिए चरणबद्ध आन्दोलनको घोषणा गरिने उनीहरुले जनाएका छन् ।
२७ असोजमा महोत्तरी पुगेका प्रधानमन्त्री भट्टराई रमाइलो मेलाको उद्घाटन गर्न राजविराज आएका थिए ।
