समाचारसोमबार, पौष २१, २०७१
‘मार्शल विरुद्ध मोर्चाका सभासदहरू भीड्न तयार’
कांग्रेस–एमालेले बुहमतबाट संविधान जारी गराउने तयारीमा लागेको भन्दै एमाओवादीसहितको ३० दलीय मोर्चाले संविधानसभाभित्रै भीड्न तयार हुने निर्णय गरेको छ ।
२१ पुसमा बसेको मोर्चाको बैठकले बहुमतबाट संविधान जारी गरिए संविधानसभामा रोष्टम घेराऊ, नाराजुलुस गर्ने र मार्शल लगाइए सभासदहरु भीड्न तयार रहेने निर्णय गरेको छ ।
मोर्चामा आवद्ध एक नेताले भने, ‘‘सभाध्यक्षले मार्शल प्रयोग गरेर हामीलाई नियन्त्रण गरियो भने हामी भीड्न तयार हुने निर्णय भएको छ ।’’ उनका अनुसार संविधानसभामा सभासद र सडकमा जुलुस निकाल्दै अनिश्चितकालका लागि आमहड्ताल गरिनेछ ।
कांग्रेस, एमालेलगायत सत्तारुढ दलहरुसँगको छलफलमा बसिरहेको मोर्चाले २५ पुसदेखि क्षेत्रीय रुपमा र ५ माघमा नेपाल बन्दको आह्वान गरिसकेको छ । एमाओवादीका केन्द्रिय सदस्य रामकुमार राईका अनुसार देशैभर आन्दोलनको तयारी भइरहेको छ ।
