समाचारबिहीबार, पौष २४, २०७१
सूचना आयोगका प्रमुख आयुक्तमा बाँस्कोटा
मन्त्रिपरिषद्को २४ पुसमा बसेको बैठकले लामो समयदेखि रिक्त राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्तमा कृष्णहरि बाँस्कोटा, आयुक्तमा किरणकुमार पोखरेल र यशोदादेवी तिम्सिनालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
सभामुख सुवास नेम्वाङको संयोजकत्वमा रहेको छनोट समितिको सिफारिसका आधारमा नियुक्त गरिएको सरकारका प्रवक्ता मन्त्री मीनेन्द्र रिजालले जानकारी दिए ।
सिफारिस समितिमा सूचना तथा सञ्चारमन्त्री रिजाल र नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट सदस्य थिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थ मन्त्रालयको समेत सचिव रहिसकेका बाँस्कोटा यसअघि उच्चस्तरीय प्रशासन सुधार आयोगको प्रमुख थिए । आयुक्तमा नियुक्त पोखरेल नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष र तिम्सिना पत्रकार महासङ्घका पूर्व उपाध्यक्ष हुन् ।
यस्तै सरकारले डडेल्धुराको अमरगढी नगरपालिकाको बागबजारमा केही दिन पहिले आगलागीमा परी जनधनको क्षति भएको घटनाको छानबिन गरी पीडितलाई राहत तथा पुनःस्थापनाका लागि उपप्रधानमन्त्री वामदेव गौतमको संयोजकत्वमा अर्थमन्त्री डा रामशरण महत र सिँचाइमन्त्री नारायणप्रसाद साउद सदस्य रहेको समिति गठन गरेको छ ।
समितिको सिफारिसका आधारमा पीडितलाई क्षतिपूर्ति तथा राहत दिइनेछ ।
यस्तै निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत योजना छनोट गर्ने समयावधि आगामी माघ मसान्तसम्म थप गरिएको छ । सांसदको आग्रहबमोजिम सरकारले योजना छनोटका लागि थप समय प्रदान गरेको हो ।
व्यवस्थापिका–संसद्का विभिन्न समितिमा सांसदले योजना छनोटको अवधि कम भएको गुनासो गरेका थिए । यसअघि यही पुस मसान्तसम्ममात्रै योजना छनोट गर्ने अवधि तोकिएको थियो । चालु आवको बजेट वक्तव्यमार्फत सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा खर्च गर्न पाउने गरी रु एक करोड बजेट उपलब्ध गराउने व्यवस्था गरेको थियो ।
त्यसैगरी उपप्रधानमन्त्री गौतमको प्रमुख सल्लाहकारबाट प्रदीप नेपालले दिएको राजीनामा स्वीकृत गरिएको छ । कृषि विकास मन्त्रालयअन्तर्गत रहेको कपास विकास समितिको कार्यकारी प्रमुखका वीरबहादुर सिंहलाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
भूमिसुधार तथा व्यवस्था मन्त्रालयअन्तर्गत रहेको गुठी संस्थानका अध्यक्षमा लक्ष्मणराज ज्ञवाली र प्रशासकमा नारायण चौधरीलाई नियुक्त गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको मन्त्री डा रिजालले जानकारी दिए ।
