थप समाचारशुक्रबार, पौष २५, २०७१

बाँदर धपाइदेऊ

हिमालखबर

 

बाराको पथलैया, आमलेखगंज र पिलुवा क्षेत्रमा बाँदरको उपद्रोले स्थानीयलाई सास्ती दिएको छ ।

तस्वीर: श्याम गुप्ता

तस्वीर: श्याम गुप्ता

पथलैया, पिलुवा, महेन्द्रनगर, टाँगियाबस्ती, आमलेखगंज, लालरतनपुरी लगायतका ठाउँमा बाँदहरु वस्तीमा पसेर अन्नबाली खाइदिने, आँगनमा राखेका मात्र नभई घरभित्रै पसेर सामान लथालिङ्ग पार्ने र बालबालिकामाथि आक्रमण गरी स्थानीयलाई सताउने गरेपछि उनीहरुले बाँदर नियन्त्रणका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

बाँदरले राजमार्गमा साइकल लिएर हिंड्ने सर्वसाधारणलाई समेत दुःख दिने गरेको छ । मोटरसाइकल र अन्य सवारीसँग डराएपनि साइकल यात्रुलाई बाँदरले झम्टने र सामान खोस्ने समेत गरेको बारा स्थानीय सञ्चारकर्मी प्रकाश लम्सलले बताए ।

राजमार्गमा हुल बाँधेर बस्ने बाँदरले पैदल हिंड्ने र साइकल यात्रुलाई अत्यन्तै दुःख दिने गरेको उनले बताए ।
जिल्ला कै पसाहा पुल र नौं किलो क्षेत्रका होटल व्यवसायी पनि बाँदरका कारण हैरान छन् ।

“कति पटक पस्केको भात नैं बाँदरले बोकेर हिंडेको छ,” नौ किलोकी होटल व्यवसायी शान्तिमाया लामा भन्छिन्, “दायाँ बायाँ लाग्यो कि पसलभित्र बाँदर पसेर जे भेट्यो त्यही उठाइदिन्छ ।”

पर्सा बन्यजन्तु आरक्ष क्षेत्र र जिल्ला वन कार्यालय बारा नजिकका स्थानीयलाई बाँदरले मात्र हैन अन्य जंगली जनावरले पनि उत्तिकै सताउने गरेको स्थानीय बताउँछन् । राति जंगलबाट नीलगाई र घोडगधा आएर खेतबारीको बाली खाइदिने गरेको उनीहरुको गुनासो छ ।

यता पर्सा बन्यजन्तु आरक्षका साहायक संरक्षण अधिकृत शिवनारायण साहले बाँदर, नीलगाई लगायतका बन्यजन्तु नियन्त्रणका लागि लखेट्ने बाहेक अर्को कुनै उपाय नभएको बताउँछन् । “कैयौं पटक स्थानीयले नीलगाई समातेर हामीलाई बुझाएका छन्” उनले भने ।

बाँदर लगायतका जंगली जनावर मारेमा कारवाही हुने भएकाले पनि स्थानीयले बाँदर नियन्त्रणको प्रयास गरेका छैनन्, धपाउँदा चोटपटक लागेर मरिदेला भन्ने डरले ।

बाँदर मार्नेको पहिचान भए ६ महिना देखि २ बर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरीवाना वा दुबै सजाय हुने कानूनी व्यवस्था रहेको साहले बताए ।
श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>