समाचारसोमबार, आश्विन २९, २०६९

नयाँ जनादेशबाहेक अर्को बिकल्प छैन: राष्ट्रपति

हिमालखबर

बटुकनाथ झा,जनकपुर

निजी कामले  २९ असोजमा जनकपुर आएका राष्ट्रपति  यादवले सर्वोच्च अदालतले पनि पुन:स्थापनाको विकल्प नदिएकाले  संविधान सभाको पुनःस्थापना हुन नसक्ने बताए ।

“अन्तरिम संविधान एवम् सर्वोच्च अदालतको फैसलाले समेत निर्वाचनमा जानुपर्ने एकमात्र बाटो देखाएकाले दलहरु चुनावमा जानुबाहेक अर्को विकल्प छैन,” राष्ट्रपति यादवले भने । सर्वोच्चले दिएका विकल्पहरुको ठिक विश्लेषण नगरेर प्रमुख चार दल र सरकारले ठुलै गल्ती गरेको भन्दै उनले संविधानसभा विघटन गर्नु अघि  नै संविधान संशोधन नगर्नु गल्ती भएको जिकिर गरे ।

सञ्चारकर्मीहरुको जिज्ञासालाई शान्त पार्दै राष्ट्रपति यादवले दलहरु नथाकेसम्म जिम्मेवार अभिभावकको हैसियतले आफूले कुनै कदम नचाल्ने पनि स्पष्ट गरे । अहिलेको संविधान आफ्ना लागि पवित्र गीतासरह भएको उनको भनाई थियो ।

“राजनीतिक दलहरुलाई सहमति गराएर संविधान जारी गराउनु मेरो कर्तव्य हो । जुन बाटोबाट संविधान आउँछ, दलहरुले त्यो काम गर्नुपर्दछ,” सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिंदै राष्ट्रपति यादवले भने ।

अन्तरिम संविधानमा दलहरुबीच सहमति गरेरै कार्य गर्ने स्पष्ट व्यवस्था रहे अनुरुप दलहरुबीच सहमति भई मुलुकले निकास पाउनेमा आफु विश्वस्त रहेको उनको भनाई थियो ।

प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपतिलाई हस्तक्षेप गर्ने अधिकार नभएको अभिव्यक्ति दिएको विषयमा यादवले भने, “कसले के बोल्छ, त्यसमा मैले ध्यान दिन जरुरी छैन ।” उनले माओवादी र मधेशी मोर्चाको अहिलेको सरकारले जहाजलाई पार लगाउन नसक्ने भन्दै नेपाली काँग्रेस र नेकपा एमालेसहितको राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने बताए ।

राष्ट्रको अखण्डता कायम राखी देशमा लोकतन्त्रलाई संस्थागत गर्ने र जनताको अधिकार सुनिश्चित गर्ने आफ्नो अधिकार भएको पनि उनले प्रष्ट पारे  ।

सगोलमा रहेको पैतृक सम्पतिलाई अंशियारका नाममा हस्तान्तरण गर्न  सार्वजनिक विमान चढेर जनकपुर आएका राष्ट्रपति यादवले जानकी मन्दिर र कृष्ण मन्दिरमा पूजा समेत गरेर २९ असोजमै काठमाडौं फर्किएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>