समाचारशनिबार, पौष २६, २०७१
ओलीले भने, ‘‘चिसोमा मेरो पुत्ला जलाएर ठीकै गर्नुभो’’
एमाओवादीसहितको मोर्चासँग राजनीतिक संस्कार नभएकाले आफ्नो अपमान हुँदा पनि माफी माग भन्न नसकेको एमालेका अध्यक्ष केपी ओलीले बताएका छन् ।
२६ पुसमा पार्टी कार्यालय बल्खुमा आयोजित पत्रकार सम्मेलनमा ओलीले बैठकमा बोल्दै गर्दा मोर्चाका नेताहरुले बीचमै छोडेर हिड्दा आफ्नो अपमान भएको बताए ।
उनले भने, ‘‘अपमान त मेरो भएको छ, बैठकबाट ब्रुक्क उठेर हिडेकाहरुले बाहिरतिर नानाभाती गाली गर्दैछन्, आफैंले बुझेर मसँग माफ माग्नुपर्ने होइन ? कहिले महिन्द्रे भन्या छन्, कहिले यथास्थितीवादी, संविधान विरोधी भन्या छन् ।’’
सहमतिमै संविधान जारी गर्नका निम्ति अपमान सहदै आएको बताउँदै आलीले भने, ‘‘मेरो पुत्ला जलाएर चिसोमा ठीकै गर्दैछन् ।’’ तर, चिसाे माैसममा धेरै नतातिन उनले माेर्चालाई अाग्रह गरे ।
चुनाव हार्नेलाई कस्तो स्पेस ?
ओलीले चुनाव हार्नेलाई लोकतन्त्रमा स्पेस नहुने बताए । भारतीय कंग्रेस र श्रीलंकाका राष्ट्रपतिको उदाहरण दिदै चुनाव हार्नेको स्पेस नहुने बताए ।
ओलीले भने, ‘‘महिन्दा राजापाक्षेलाई अव के स्पेस दिने ? भारतमा कंग्रेसमा चुनाव हारेको छ, अव कुन स्पेस दिनु ?’’
विधिका शासनमा संसद संख्या केही होइन भन्नेहरु भ्रममा रहेको ओलीको भनाई थियो । संविधानसभामा पूर्ण सहमति नजुट्ने भएकाले अधिकतम सहमतिको संविधान बन्ने बताउँदै ओलीले भने, ‘‘सहमति भएपनि प्रकृयामा जानैपर्छ, प्रकृया भन्दासाथ तर्सेको किन मैले बुझ्न सकेको छैन ।’’
संविधानसभा खेल मैदान होइन
ओलीले संविधानसभा संविधान निर्माण गर्ने ठाउँ भएकाले धम्कीको भाषा प्रयोग नगर्न विपक्षी दलहरुसँग आग्रह गरेका छन् ।
२६ पुसमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले भने, ‘‘हो–हल्ला गर्ने, कुस्ती खेल्ने, सिट्ठी बजाउने काम खेल मैदानमा हुन्छ, त्यही जाने । संविधानसभामा त्यस्तो हुँदैन ।’’ ओलीले भने कसैको होहल्लाले ८ माघमा संविधान बन्नबाट रोक्न नसक्ने बताए ।
उनले दरबन्दी अनुसार थप गरिएको मर्यादापालकको विषयलाई गोयबल्सशैली अपनाउनु नहुने बताए । ओलीले भने, ‘‘मर्यादापालक सभासदहरुको सुरक्षाका लागि हो, भीडन्तका लागि होइन ।फेरि एमाले भएको ठाउँमा किन चाँहियो मार्शल ?’’
उनले संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको प्रतिवेदनमा सहमति नजुटेपनि २९ पुस दिउँसो ११ बजेबाट संविधानसभामा प्रकृया शुरु हुने बताए ।
संघीयता प्याजको व्यापार होइन
देशको अहित हुनेगरी संघीयतामा सम्झौता गर्न नसकिने उनले बताए । देशको हितमा संविधान बनाउँदा ‘गिभ एण्ड टेक’ र ‘वीनवीन’ भन्ने शब्दै नहुने बताउँदै ओलीले भने, ‘‘संघीयता भनेको आलु–प्याजको व्यापार जस्तो होइन, बेच्नेले ६० भन्ने किन्नेले ५० भनेर ५५ मा मिलाएको जस्तो होइन ।’’
देशलाई अहित गर्ने, हिंसा निम्त्याउने र राष्ट्रिय अखण्डतामा आँच आउनेगरी सहमति नगर्ने बताए । उनले भने, ‘‘सत्ता पक्षमा बस्दैमा मागेको सवै दिन सकिदैन । पहिले झोला माग्ने अनि हात्ती माग्ने र दुवै पाएपछि यो हात्ती झोलाभित्र हालिदेऊ भनेपछि कसरी माग पूरा गर्ने ?’’
सरकारमा जान हतारमा छैन
अाेलीले जेल बस्दा पनि निस्कन हतार नगर्ने स्वभाव अाफ्नाे भएकाे भन्दै सरकारमा जान कुनै हतार नभएकाे बताए । उनले अाफुलाई ढिलाे गर्छन् भन्ने अाराेप लाग्ने गरेकाे बताए । उनले भने, “मलाई बरु ढिलाे गर्छन् भन्ने अाराेप लाग्दै अाएकाे छ । प्रधानमन्त्री बन्ने भन्दा संविधान बनाउने हतार बढि छ ।”
सहमति नभए बहुमतबाट ८ माघमै संविधान जारी गर्ने भन्दै अायाेजित पत्रकार सम्मेलनमा बरिष्ठ नेता माधवकुमार नेपालले दाहाललाई दबावमा रहेकाले सहमति हुन नसकेकाे अनुमान काटे ।

