समाचारसोमबार, पौष २८, २०७१
बन्दविरुद्ध ठाउँठाउँमा प्रतिकार (अपडेट)
एमाओवादीसहितका तीस दलीय मोर्चाले आह्वान गरेको बन्दविरुद्ध डडेल्धुराका सर्वसाधारण प्रतिकारमा उत्रिएका छन् । सर्वसाधारणको प्रतिकारपछि डडेल्धुरा सदरमुकाममा बन्द खुलेको छ ।
डडेल्धुराको मुख्य बजार बागबजारसहित तुफानडाँडा, खलंगा, किर्तिपुरमा स्थानीयबासिन्दा र व्यापारीले प्रतिकार गरेका थिए । मोर्चासम्बद्ध नेता–कार्यकर्ताले जबर्जस्ती बजार बन्द गराउन खोजेपछि स्थानीयबासिन्दा र व्यापारीले नारा जुलुससहित प्रतिकार गरेका हुन् ।
प्रतिकारपछि बन्दकर्ताहरु भागेका छन् । स्थानीय प्रतिकारपछि तनाब हुने आशंकामा स्थानीय प्रशासनले सदरमुकाममा कडा सुरक्षा व्यवस्था मिलाएको छ ।
सर्वसाधारणले ‘बन्द गर्न पाइँदैन, व्यवसाय गरेर बाँच्न देउ’ भन्ने नारा लगाएका थिए । बजार बन्द खुले पनि लामो दुरीका यातायात भने अझै चलेका छैनन् ।
छत्र साउद, डडेल्धुरा
—————————————————————————————————————————————-
एमाओवादीसहितका तीस दलीय मोर्चाले आह्वान गरेको बन्दविरुद्ध झापाको चन्द्रगढीमा पनि प्रतिकार भएको छ । बन्द गर्न भन्दै आएका समूहलाई चन्द्रगढीका व्यवसायीले सामूहिक रुपमा प्रतिकार गरेका हुन् ।
प्रतिकारको क्रममा एक बन्दकर्ताको टाउकोमा सामान्य चोट लागेको छ । मधेशी जनअधिकार फोरम नेपालको भातृ संगठन युवा संघका झापा जिल्ला अध्यक्ष रञ्जितकुमार सिन्हालाई चोट लागेको प्रहरीले जनाएको छ ।
व्यवसायीको प्रतिकार पछि भने चन्द्रगढी बजार खुलेको छ ।
यस्तै, झापाकै सुरुंगा बजारमा पनि व्यवसायीले बन्दको प्रतिकार गरेका छन् । व्यवसायीले २७ पुसमै सामूहिक निर्णय गरेर बन्दको प्रतिकार गरेका हुन् ।
व्यवसायीले प्रतिकार गर्ने भनेपछि बन्दकर्ता नपुगेको र बिहानैदेखि पसल बजार खुलेको छ ।
गोपाल गडतौला, झापा
—————————————————————————————————————————————-
यस्तै, सुर्खेतमा नेकपा–माओवादीका आफ्नै कार्यकर्ताले पनि२७ पुसमा बन्दको विरोध गरेका थिए । केन्द्रको स्वार्थमा स्थानीय कार्यकर्तालाई प्रयोग गरेको भन्दै कार्यकर्ताले नै विरोध जनाएपछि बन्द प्रभावकारी भएको थिएन ।
पोखरा लेकसाइडमा पनि जगदम्बा आमा समूहको नेतृत्वमा निस्केको महिला समूहले बन्दको प्रतिकार गरेका थिए । प्रतिकारपछि बजार खुलेको थियो ।
