समाचारसोमबार, पौष २८, २०७१
सरकारी दमनको प्रतिक्षा…
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो नेतृत्वको मोर्चालाई सरकारी दमन पर्खन आग्रह गरेका छन् । सिंहरदबारमा २८ पुसमा बसेको ३० दलीय मोर्चाको बैठकमा दाहालले सरकारको गतिविधि हेरेर कदम चाल्न निर्देशन दिएका हुन ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक छाडेर गएका दाहालले मोर्चाको बैठकमा भने, ‘८ माघसम्म उच्श्रृंखल गतिविधि नगरौं ।’ तर त्यही बैठकबाट उनले मधेश बन्द गर्ने प्रेस विज्ञप्ति निकाले । दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा धनुषाको भ्रमपुरामा लडेर मृत्यु भएका राजाराम झालाई प्रहरीले पिटेर मारेको दाबी गरिएको छ ।
सरकारले दमन गरे आफूलाई फाइदा पुग्ने दाहालको बुझाई रहेको बैठकमा सहभागी एक नेताले हिमालखबरलाई जानकारी दिए । मोर्चाको बैठकमा उनले संविधान निर्माण र प्रमुख दलहरूबीच भएको छलफलको विषयमा भने केही बताएनन् ।
एमाओवादी र मधेशकेन्द्रित दलका नेताहरु मोर्चाको बैठकमा गएपछि संवाद समितिले पछिल्लो पटक पाएको चार दिने म्याद पनि सहमति नगरी समाप्त भएको छ ।
