समाचारबुधबार, पौष ३०, २०७१
ललितपुरमा जथाभावी गाडी राेक्न नपाइने
ट्राफिक प्रहरीले लगनखेलदेखि कुपण्डोलसम्म सञ्चालन हुने सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने चालक र सहचालकलाई गाडी रोक्न पाउने स्थानको जानकारी दिइएको कार्ड वितरण गरेको छ ।
लगनखेलबाट कुपण्डोलसम्म चल्ने सार्वजनिक यातायातका साधनका लागि १० स्थान निर्धारण गरेको भएपनि चालकले जथाभावी गाडी रोक्ने गरेकाले निर्धारित १० स्थान सहितको कार्ड चालक र सहचालकलाई वितरण गरिएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा जावलाखेलका प्रमुख सीताराम हाछेथुका अनुसार ६६२ वटा कार्ड वितरण भएको छ । हाछेथुले गाडी रोकी यात्रु चढाउन र ओराल्न लगनखेल, पाटन अस्पताल, कुमारीपाटी, मानभवन, जावलाखेल, दमकल मोड, पुलचोक, हरिहरभवन, इनार मोड र कुपण्डोललगायतका स्थान निर्धारण गरिएको जानकारी दिए ।
निर्धारित स्थानविपरीत यातायातको साधन रोकेको भन्दै प्रहरीले १८ जना सवारी चालकलाई कारबाही गरेको छ । नयाँ व्यवस्था अनुसार तोकिएको स्थानभन्दा अन्यत्र गाडी रोके चालक र रोक्ने प्रयास गरे यात्रुसमेत कारबाहीमा पर्नेछन् ।
