समाचारबुधबार, पौष ३०, २०७१
मस्यौदा या संविधान जे आए पनि स्वीकार्दैनौंः थापा
नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले संविधानसभाबाट ८ माघमा संविधान या मस्यौदा जे आए पनि नस्वीकार्ने चेतावनी दिएका छन् । नवलपरासीको कावासोतीमा ३० पुसमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “८ माघमा मस्यौदा अथवा संविधान जे आए पनि हामी बिरोध गर्छौं ।”
संविधानसभाबाट आउने संविधान जनबिरोधी हुने उनको तर्क छ । उनले जबरजस्ती संविधान जारी गरिए कडा संघर्षमा उत्रिने बताए ।
“यो संविधानसभा नक्कली हो, यस्को कुनै औचित्य छैन,” उनले भने, “संविधानसभा खारेज गरेर सर्वपक्षीय सभा गर्नुपर्छ ।”
उनले नयाँ आन्दोलनले जारी संकट हल गर्ने जिकिर गरे । उनले वैचारिक र राजनैतिक आधारमा माओवादी घटकबीच कार्यगत एकताको गृहकार्य भइरहेको पनि बताए ।
विद्रोही गिरी, नवलपरासी
