समाचारबिहीबार, माघ १, २०७१
जबरजस्तीमा नजाऊ : राष्ट्रसंघ
नेपाल भ्रमणमा रहेका राष्ट्रसंघीय उपमहाचिव जेफ्री फेल्टम्यानले राजनीतिक दलहरूलाई संविधानसभा बहिष्कार वा जबरजस्ती मतदानमा गएर नयाँ संविधान जारी गर्न नलागी सहमतिमा अघि बढ्न आग्रह गरेका छन्। उनले वाक आउट वा जबरजस्ती मतदान दुवैतिर नजान दलहरूलाई सुझाव दिएका छन्।
भ्रमणबारे जानकारी दिन राष्ट्रसंघको नेपाल कार्यालय परिसरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, मैले नेताहरूलाई धम्की दिनुको साटो सम्झौता, लचकता र समावेशी भावनामार्फत संविधान बनाउन र शान्तिप्रक्रिया टुंगोमा पुर्याउन महासचिव बान की मुनका तर्फबाट आग्रह गरेको छु।
फेल्टम्यानले आफू महासचिव बानको सद्भाव सन्देश सुनाउन आएको जानकारी गराउँदै सबैको अपनत्व हुने गरी संविधान निर्माण गर्न सुझाए। राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, एमाले र एमाओवादी अध्यक्ष, मधेस केन्द्रित दलका नेता, प्रधानसेनापतिलगायतसँग भेट गरेपछि उनले पत्रकार सम्मेलन गरेका हुन्।
सबै भेटमा संविधानमा शतप्रतिशत सहमति जुटाउन नसके पनि सकेसम्म धेरै पक्षलाई समेट्नुपर्ने बानको सन्देश आफूले सुनाएको उनले बताए। उनले भने, संविधान नियमित कानुन होइन, व्यापक जनसमर्थन आवश्यक पर्ने आधारभूत दस्ताबेज हो।
उनले सबैजसो नेताले अहिलेसम्म महत्त्वपूर्ण उपलब्धि हासिल भएको र समयमै संविधान बनाउने प्रतिबद्धता गरेको जानकारी दिँदै यही सन्देश आफूले महासचिवसमक्ष पुर्याउने बताए।
रासस
