समाचारबिहीबार, माघ १, २०७१
देशभर माघेसंक्रान्ति मनाइँदै
विभिन्न नदी, दोभान तथा त्रिवेणीमा स्नान र देवमन्दिरमा पूजापाठका साथै घिउ–चाकु, तिलको लड्डु र तरुल खाएर देशभर माघेसंक्रान्ति मनाइँदैछ । यो पर्वको अवसरमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई लगायतका ठाउँमा मकर स्नान गर्ने तथा पूजापाठ गर्नेको घुइँचो छ ।
थारु समुदायले भने हर्षोल्लासपूवर्क माघी पर्व मनाइरहेका छन् । १ माघदेखि शुरु भएको माघीको अवसरमा राष्ट्रपति रामवरण यादवले शुभकामना सन्देश दिँदै यो पर्वले सबै नेपालीबीच आपसी सदभाव, प्रेम र शान्ति स्थापनाका लागि सफलताको कामना गरेका छन् ।
माघी पर्वमा मीठा परिकार खाने, इष्टमित्रबीच खुशी साटासाट गर्ने परम्परा छ । तराईका विभिन्न ठाउँमा माघी मेला लागेको छ ।
आजै मगर तथा छन्त्याल समुदयाले पनि मकर संंक्रान्ति पर्व मनाइरहेका छन् । पर्वको अवसरमा आपसमा शुभकामना आदानप्रदान गर्ने, जमघट हुने, मीठा परिकार खाने गरिन्छ ।
किराँत समुदायले पनि आजै कक्फेक्वा तङनाम (माघे सङ्क्रन्ति पर्व) धूमधामसँग मनाइरहेका छन् । किराँत राई, याक्खा, लिम्बू सुनवारलगायतका समुदायले धूमधामसँग मनाउने कक्फेक्वा तङनाममा वन तरुल, घर तरुल, सखरखण्ड, फूलतरुल खाने गरिन्छ ।
तङनामको अवसरमा आफन्तजन भेटघाट गर्ने, मीठा परिकार खाने, शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।
