समाचारबिहीबार, माघ १, २०७१
मतदानबाट संविधान: एमाले
नेकपा एमालेले द्रुत मार्गबाट संविधान निर्माण गर्नुपर्ने निर्णय गरेकाे छ ।
पार्टी स्थायी कमिटीको बैठकले संविधानसभा, संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले असहमतिसहितको प्रतिवेदन बुझाएकाले अब अनौपचारिक रुपमा सहमतिको प्रयासका साथै संविधान निर्माणको प्रक्रियालाई तीव्र बनाउन जोड दिएको हो ।
बैठकपछि एमाले स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले अब संविधानसभामा असहमतिका विषयमा प्रश्नावली तयार गर्न कार्यदल गठन गरिने, सो कार्यदलले छोटो समयमा प्रश्न तयार गरी मतदान गरिने र बाँकी कार्य गर्न मस्यौदा समितिलाई जिम्मा दिनुपर्नेमा जोड दिएको बताए ।
नेता पोखरेलले भने, “पूर्वनिर्धारित ८ माघभित्र संविधान आउन सक्ने सम्भावना नरहे पनि धेरै समय नलाग्ने प्रक्रिया अवलम्बन गर्न हामीले जोड दिएका छौँ ।”
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले दलहरुका बीचमा सहमतिका लागि भएका प्रयास र वार्ताबारे अवगत गराएका थिए ।
संविधान निर्माणसम्बन्धी विषयको व्यस्तताका कारण एमालेका केन्द्रीय सदस्यको कार्य विभाजनको कार्यसूचीमा छलफल हुन पाएको छैन । नयाँ संविधानमा राज्यको पुनःसंरचना, न्याय र निर्वाचन प्रणाली तथा शासकीय स्वरुपबारे दलबीच सहमति जुट्न सकेको छैन । रासस
