समाचारशुक्रबार, माघ २, २०७१
मन्त्रिपरिषद बैठक: भारतमा र अमेरिकामा उपाध्याय र कार्की राजदूतमा सिफारिस
सरकारले भारत र अमेरिकाको राजदूतमा क्रमशः दीपकुमार उपाध्याय र अर्जुनकुमार कार्कीलाई सिफारिस गरेको छ ।

दीपकुमार उपाध्याय (बायाँ) र अर्जुनकुमार कार्की
मन्त्रिपरिषद्को बैठकले भारतमा आवासीय र भुटानमा गैरआवासीय राजदूतका रुपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपकुमार उपाध्याय तथा संयुक्त राज्य अमेरिकाका लागि आवासीय एवम् कोलम्बिया, मेक्सिको, हुन्डुरस, ग्वाटेमाला, कोस्टारिका, निकारागुवा र गायनाका लागि गैरआवासीय राजदूतका रुपमा कार्कीलाई नियुक्तिको सिफारिस गरेको सरकारका प्रवक्ता मीनेन्द्र रिजालले जानकारी दिए ।
पूर्व अर्थ राज्यमन्त्री उपाध्याय गत संविधानसभा निर्वाचनमा कपिलबस्तुबाट पराजित भएका थिए। उनी कांग्रेस केन्द्रीय सदस्य पनि हुन् । त्यस्तै आरआरएन (रुरल रिकन्स्ट्रक्सन नेपाल) नामक गैर सरकारी संस्था चलाउने कार्की एमाले निकट हुन् ।
अमेरिका र भारतमा लामो समयदेखि राजदूत पद रिक्त थियो ।
सरकारले सिफारिस गरेका दुवै जनालाई संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि पूर्वस्वीकृति ९एग्रिमो० का लागि सम्बन्धित देशमा पत्र पठाइनेछ।
सरकारले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धकमा गौतममान श्रेष्ठ र हेटौँडा सिमेन्ट उद्योग लिमिटेडका महाप्रबन्धकमा प्रेमशङ्कर सिंहलाई नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री रिजालले बताए ।
बैठकले युवाहरुलाई व्यावसायिक कृषि कर्जामा ६ प्रतिशतभन्दा बढी व्याज तिर्नुनपर्ने सहुलियत अनुदानसम्बन्धी कार्य पहिलो संशोधन कार्यविधि पारित गरेको छ ।
त्यस्तै ग्रीडको सौर्य ऊर्जा र ऊर्जा प्रभावकारिकता आयोजनाका लागि विश्व बैंक समूहको १३० मिलियन डलर अन्तर्राष्ट्रिय विकास संस्थाबाट ऋण सहायता प्राप्त गर्न अख्तियारी दिने निर्णय भएको छ ।
सरकारले अन्नपूर्ण संरक्षण क्षेत्रको व्यवस्थापन गर्दै आएको प्रकृति संरक्षण कोषको जिम्मेवारी यही ४ माघमा समाप्त हुन लागेकाले त्यस अवधिलाई बढाएर पाँच वर्ष थप गरेको छ ।
एक वर्षभित्र व्यवस्थापन नियमावली निर्माण गर्नाका साथै त्यसमा संयुक्त रुपमा व्यवस्थापनका लागि स्थानीय समुदायको क्षमता अभिवृद्धि गरी सो अवधिको अन्त्यसम्ममा क्षेत्रको सम्पूर्ण व्यवस्थापन स्थानीयवासीले नै गर्ने कार्य अघि बढाउने निर्णय गरिएको छ ।
