समाचारआइतबार, माघ ४, २०७१
हिन्दू राष्ट्र माग गर्दै बारामा राजमार्ग अवरुद्ध
बारामा हिन्दु राष्ट्रको माग गर्दै साधुहरुले दुई घण्टा राजमार्ग अवरुद्ध पारेका छन् ।

तस्वीर: श्याम गुप्ता
बिभिन्न जिल्लाबाट बाराको पथलैयामा भेला भएका साधुहरुले दिउँंसो २ बजे देखि ४ बजेसम्म पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् ।
मुलुकलाई हिन्दु राज्य कायम गर्नु पर्ने माग राख्दै ‘नेपाल साधु महासंघ’को नेतृत्वमा राजमार्ग अवरुद्ध गरेका साधुहरुले धर्म निरपेक्षताको विरुद्धमा नाराबाजी समेत गरेका थिए ।
८ माघमै हिन्दू धर्म सापेक्ष संविधान जारी गरिनु पर्ने साधुहरुको माग रहेको नेपाल साधु महासंघ बाराका अध्यक्ष शौरभनाथले बताए ।
झण्डै पाँच सय साधुहरुले पथलैयामा दुई घण्टा राजमार्ग अवरुद्ध गर्दा पूर्व–पश्चिम आवागमन गर्ने सयौं सवारी साधन र यात्रुहरु अलपत्र परेका थिए ।
श्याम गुप्ता, बारा
