समाचारमंगलबार, माघ ६, २०७१
जनजाति सभासद्हरुको खण्डनः दाहाललाई हाम्रो साथ छैन, उनी भ्रममा परे
संविधानसभाका जनजाति समुदायका सभासद्हरुले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई अाफ्नो साथ नरहेको बताएका छन् ।
३४ जना आदिवासी जनजाति सभासद्हरुले संयुक्त विज्ञप्ती जारी गर्दै दाहाल भ्रममा परेको बताएका छन् । जनजाति सभासद एवम् एमाले केन्द्रीय सदस्य यज्ञराज सुनुवारले भने, ‘‘हाम्रो उपस्थितिकै आधारमा दाहाल जनजातिको ठेकेदार बन्न खोजिरहेका छन्, तर उनी भ्रममा छन्, उनलाई हाम्रो समर्थन छैन ।’’
आदिवासी जनजाति महासंघले आयोजना गरेको कार्यक्रममा जनजातिको अजेण्डाका बारेमा गरिएको हस्ताक्षरलाई देखाउँदै जनजातिको समर्थन आफूलाई रहेको भन्ने दाहालको दाबी गल्ती भएको उनले स्पष्ट पारे । सुनुवारले भने, ‘‘संविधानसभालाई बन्धक बनाउने गरी दाहालले हाम्रो हस्ताक्षर दुरुपयोग गरेकाले त्यसको खण्डन गरेका छौं ।’’
विज्ञप्तीमा सभासद्हरु अमृतलाल राजवंशी, पुष्पलता लामा, शेरधन राई, जयन्ती राई, गोकुल घर्ती, यज्ञराज सुनुवार, भवानी खापुङले लगायतले हस्ताक्षर गरेर दाहालको खण्डन गरेका छन् ।
३ र ४ माघमा जनजाति महासंघले आयोजना गरेको कार्यक्रममा सवै दलका जनजाति सभासद् सहभागी थिए ।
विज्ञप्तीमा उल्लेख छ, “अामन्त्रित पुस्तिकामा गरिएकाे हस्ताक्षरलाई गलत उद्देश्यबाट दुरुपयाेग गरी संविधानसभाबाट संविधान जारी गर्न नदिने गम्भीर षडयन्त्रसहित हाम्रो हस्ताक्षरलाई दुरुपयोग गरी सम्माननीय प्रधानमन्त्रीज्यू लगायत केही प्रमुख दलका प्रमुखहरुलाई बुझाइयो ।”
महासंघका महासचिव पेम्बा भोटेले पनि जनजाति महासंघले कुनै दल विषेशको भातृ संगठन जस्तो भएर अजेण्डा प्रस्तुत नगर्ने बताएका छन् ।
तर, दाहालले यही भेलामा भएको उपस्थितिको हाजिरी हस्ताक्षरलाई आधार बनाउँदै अाफूप्रतिको समर्थन भन्दै सत्तापक्षसँग ‘बार्गेनिङ’ गर्न थालेपछि ४ माघमा बनिसकेको सहमति अझै निष्कर्षमा पुग्न सकेको छैन ।

