समाचारसोमबार, माघ ५, २०७१
राप्रपा नेपालले मागे चौथो शक्तिकाे स्थान
राष्ट्रपति रामवरण यादवसँग राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफ्नो दललाई चौथो शक्तिका रुपमा उचित स्थान दिनुपर्ने माग राखेका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा थापाले जनताको शान्ति र समृद्धिको चाहनालाई पूरा गर्न सहमति र विधिबाट संविधान जारी गर्न सुझाव दिएको पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौलाले बताए ।
उक्त अवसरमा संविधान निर्माणमा देखिएको गतिरोध फुकाउनका लागि विधि र प्रक्रियाका विषयमा छलफल भएको बताए ।
सडक र सदनबाट सक्रियता
राप्रपा नेपालकाे काठमाडौँ उपत्यका समन्वय समितिको बैठकले निर्धारित समयमा संविधान नआएमा विवादित विषयलाई जनमतसङ्ग्रहबाट टुङ्गो लगाउनुपर्ने निर्णय गरेको छ ।
नयाँ बन्ने संविधानमा दलको राजनीतिक कार्यसूचीलाई स्थापित गर्न सडक तथा सदन दुवैतर्फ सक्रियता बढाउने निर्णय भएको केन्द्रीय सदस्य अञ्जना शाहले बताए ।
निषेधको राजनीति गरिएमा विकल्पका रुपमा संघर्षका बाटालाई अवलम्बन गर्न कार्यकर्तालाई अध्यक्ष थापाले निर्देशन दिए ।
