समाचारसोमबार, माघ ५, २०७१
बैठक अझै शुरु भएन, सभासद्हरुलाई खानाको व्यवस्था(अपडेट)
संविधानसभा बैठक अझै शुरु हुन सकेकाे छैन । सभासद्हरु संविधानसभा हलमै बसिरहेका छन् ।
तर, संविधानका विवादित विषयमा दलहरुबीच सहमति नजुटे संविधानसभाबाट प्रक्रिया अघि बढाउने तयारी भएको छ ।
प्रमुख दलका शीर्ष नेताहरु सहमतिका लागि विहानैदेखि छलफलमा जुटेपनि सहमति हुन सकेको छैन । तर, संविधानसभा अध्यक्ष सुवास नेम्वाङले शीर्ष नेताहरुबीच सहमति नभएपनि प्रक्रिया अघि बढाउने तयारी गरेका छन् ।
संविधानसभामा सभासद्हरुले प्रक्रिया अघि बढाउन माग गर्दै नाराबाजीको तयारी गरेपछि सभाध्यक्ष नेम्वाङले प्रक्रियाको तयारी थालेका हुन् । उनले सभासद्हरुलाई रातभर लगाएर भएपनि प्रक्रिया अघि बढ्ने बताए ।
सभाध्यक्ष नेम्वाङले संविधानसभाका सवै सभासद्हरुलाई खानाको व्यवस्था गरेका छन् । संविधानसभामा दिउँसोदेखि नै बसिरहेका नेम्वाङले सवै सभासद्हरुलाई खानाको व्यवस्था गरेका हुन् ।
शीर्ष नेताहरुले सहमति गरेर आउँछौं भनेर बैठक अघि नबढाउन आग्रह गरेपछि दिउँसो १ बजे बोलाइएको बैठक अहिले पनि अघि बढ्न सकेको छैन ।
अहिले विभिन्न पक्षबीच छलफल भइरहेको छ । एमाओवादीसहितको ३० दलीय मोर्चाको बैठक बसिरहेका छन् । एमाओवादी मोर्चामा संविधानसभामा एक सीट पनि ल्याउन नसकेका र संविधानसभा निर्वाचन भाड्न हिडेका ११ वटा जातीय तथा क्षेत्रीय साना पार्टीहरु संलग्न छन् ।
