समाचारमंगलबार, माघ ६, २०७१
एमाओवादी मोर्चाको तोडफोडपछि संविधानसभा वैठक स्थगित
संविधानसभाको ५ माघको बैठकमा एमाओवादी नेतृत्वमा रहेको मोर्चाका सभासदहरुले रोष्टम घेराउ, हो–हल्ला र तोडफोड गरेपछि बैठक ६ माघसम्मका लागि स्थगित भएको छ ।
संविधानसभा बैठकमा सभाध्यक्ष सुवास नेम्वाङले राजनीतिक सम्वाद तथा सहमति समितिको प्रतिवेदनमा प्रश्नावली समिति गठनको प्रस्ताव पेश गर्न सभासद चीनकाजी श्रेष्ठलाई समय दिएलगत्तै विपक्षी सभासदहरुले रोष्टम घेर्न पुगेका थिए ।
रोष्टम घेराउसँगै उग्र हाउभाउ देखाउँदै उफ्रिएका सभासदहरुलाई रोक्न मर्यादा पालकलाई समेत हम्मेहम्मे परेको थियो । हो–हल्ला र तोडफोड बढदै गएपछि सभाध्यक्ष नेम्वाङले ६ माघ दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
विरोधमा उत्रिएका सभासदहरुले बैठक स्थगनको घोषणापछि पनि सभाहलभित्रका कुर्सी भाँच्ने, माइक फोड्ने लगायतका कामहरु गरिरहे । उनीहरुलाई रोक्नका लागि मर्यादापालकहरुलाई निकै गाह्रो भइरहेको स्पष्ट देखिन्थ्यो । त्यसपछि विपक्षी सभासदहरु राति करिब २ बजे नारा लगाउँदै संविधानसभा बाहिर निस्किएका थिए ।
यसअघि संविधानसभा बैठकमा एमाओवादी सभासद् एवम् संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले समितिको प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिएका थिए ।
बैठक स्थगित लगत्तै एमाले अध्यक्ष एमाले केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दैछन् ।
