समाचारमंगलबार, माघ ६, २०७१
पर्वतमा बन्दविरोधी र बन्द गराउनेबीच झडप, बजार खुल्यो
पर्वतको कुश्मामा बन्द आयोजक र बन्दको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीयवासीबीच झडप हुँदा एमाओवादी पर्वतका अध्यक्ष कृष्ण पराजुली गम्भीर घाइते भएका छन् ।
घाइते पराजुलीको स्थानीय मेडिकल हलमा उपचार भइरहेको छ ।
नेकपा एमाले निकट युवा सङ्घको नेतृत्वमा निस्किएको कुश्मा बजारवासीको प्रतिकार जुलुस र आन्दोलनकारीबीच शिवालय चोकमा आधा घन्टा झडप भएको थियो ।
झडपपछि तनावग्रस्त भएको सदरमुकाम कुस्मा बजार अहिले खुलिसकेको छ ।
बन्दको विरोधमा उत्रिएका युवाको मोटरसाइकल र्याली शिवालयचोकमा पुगेपछि झडप भएको थियो । बन्द आयोजक र विरोधमा उत्रिएकामध्ये अन्य करिब ६ जना सामान्य घाइते भएका छन् । बन्द आयोजक र विरोधमा उत्रिएका युवाले ढुङ्गा हानाहानसमेत गरेका थिए ।
बन्दकर्ता भागे
युवाहरु मोटरसाइकल र्यालीसहित उत्रिएपछि बन्दकर्ता भागेका छन् । प्रतिकारमा उत्रिएका युवाले बजारसमेत खुलाएका छन् । बन्दको विरोधमा उत्रिएका युवाको अगुवाइ सङ्घले गरेको थियो ।
सङ्घका कार्यकर्ता, तरुण दल, नेविसङ्घ र व्यापारीसमेत प्रतिकारमा उत्रिएका थिए ।
कुस्माबजारमा झडप भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । चोक चोकमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
हिमालपारिको जिल्ला मुस्ताङमा भने बन्दको कुनै प्रभाव परेको छैन । यातयात, शिक्षणसंस्था र बजार खुलेका छन् ।
रासस
