समाचारबुधबार, माघ ७, २०७१

किन रात पारे भनेको त आक्रमण गर्न रहेछः ओली

हिमालखबर

oliनेकपा एमाले अध्यक्ष केपी ओलीले ५ माघ राति संविधानसभामा आफूमाथि भएको आक्रमण सुनियोजित र लामो समयदेखिको योजना भएको दाबी गरेका छन् ।

प्रेस चौतारीले भक्तपुरको बालकोटस्थित ओली निवासमा ७ माघमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा ओलीले भने, “दिनभर छलफल र सहमति गर्ने भन्दै अल्झाएर रात पारे, किन रात पारे होलान् भनेको त आक्रमण गर्न पो रहेछ ।”

उनले थपे, “उनीहरुले मलाई हानेको चारवटा माइकमध्ये एउटाले मलाई लाग्यो, अर्कोले विद्या भण्डारीलाई लाग्यो, तेस्रो सभासद् ऋषि पोखरेललाई लाग्यो र अर्को भूइँमा खस्यो ।”

माओवादीको व्यवहारप्रति व्यङ्ग्य गर्दै अध्यक्ष ओलीले “गोरु नाङ्गै देखेर मलाई लाज लागेको छैन, यी कुन ग्रहबाट आएजस्ता, हेर्दा मान्छे जस्तै तर तमासा धेरै, म माथि त आक्रमण गरे गरे, सभामुखमाथि नै आक्रमण गर्ने र संविधानसभालाई शत्रुता ठान्ने यो कस्तो तमासा ?” भने।

सहमतिका लागि आग्रह
ओलीले सदन र सडकमा आन्दोलन गरिरहेका दलहरुलाई आन्दोलन छाडेर संवाद र सहमतिमा आउन आग्रह गरेका छन् ।

उनले सहमतिका लागि संवाद र छलफलको ढोका खुल्ला रहेको बताए । अध्यक्ष ओलीले भने, “बन्द र आन्दोलन दुःख पाउनु मात्र हो, सडक छोडेर संवाद र छलफलमा आउनुस् ।”

अझै पनि सहमति मै संविधान जारी गर्ने प्रयत्न भइरहेको भन्दै उनले ८ माघमा संविधानसभाको कार्यतालिकाको समय सकिए पनि सक्दो चाँडै संविधान ल्याउने प्रयासमा आफूहरु रहेको बताए ।

“कार्यतालिका सकिए पनि संविधानसभा सकिएको होइन, आवश्यक परे अर्को कार्यतालिका बनाएर संविधान निर्माण गर्न सकिन्छ, कार्यतालिकामा हेरफेर हुँदैमा संविधान निर्माण रोकिँदैन, यो संविधानसभा सफल हुन्छ,” ओलीले भने ।

तराई र पहाडलाई टुक्रयाउने र झगडा पार्ने, जातजातिबीच झगडा पार्ने, राष्ट्रिय एकता खलबलिने, सामाजिक सद्भाव बिथोल्ने कुरामा कुनै सहमति हुन नसक्ने भन्दै ओलीले थपे, “लोकतान्त्रिक विधिविरुद्ध कुनै नाम वा बहानामा अलोकतान्त्रिक विधि मान्य हुदैन । शान्ति, लोकतन्त्र, सामाजिक न्याय, समानता, राष्ट्रिय एकता र समृद्धिका लागि संविधान जारी हुनै पर्छ ।”

सहमतिका चारबुँदा
सहमतिका चारबुँदा प्रस्तुत गर्दै अध्यक्ष ओलीले भने, “ पहिलो संविधान ल्याउन दुईतिहाई बनाउने सहमति, दोस्रो त्यो सङ्ख्यालाई अत्यधिक बनाउने सहमति, तेस्रो संविधानसभाभित्र रहेका दलसँग सबैलाई सहमतिमा ल्याउने प्रयासको सहमति र चौथो संविधानसभा बाहिर रहेका दलसँग पनि सहमति खोज्ने प्रयास हो ।”

जनता र देशको भलाइमा हुने कुनैपनि विषयमा सहमति हुने बताउँदै उनले कसैको सनक पूरा गर्ने विषयमा सहमति नहुने जिकिर गरे । अध्यक्ष ओलीले भने, “संविधान बन्न नदिन ३० दलीय मोर्चाबाट ३३ दलीय, ६३ दलीय हँुदै अहिले १०५ दल पु¥याएका छन्, यो माओवादीले जन्माएको दुनियाँभरको प्रेत र मसान हो, यसलाई जगाएपनि यो निभाउन एमाओवादीलाई नै सास्ती पर्छ ।”

एकदलीय एकतावाद, प्रतिगमन लाद्ने, तानाशाहतर्फ लाने सपना कसैले देख्छ भने त्यो स्वीकार्य नहुने बताउँदै उनले अझै पनि आफूहरु आवेश र उत्तेजनामा नआई सहमतिका साथ संविधान निर्माण गर्ने पक्षमा रहेको बताए ।

‘प्रधानमन्त्रीको कुर्सीमा ध्यान छैन’
अर्को एक फरक प्रसङ्गमा अध्यक्ष ओलीले आफ्नो ध्यान प्रधानमन्त्रीको कुर्सीमा नभएको बताए । उनले भने, “मेरो उद्देश्य कुर्सी होइन, कुर्सीतिर मेरो ध्यान छैन, मैले कुर्सीलाई हेरेको पनि छैन, मेरो ध्यान संविधान निर्माणतिर छ, यता जाऊ कि उता जाऊ, यो पाइन्छ कि त्यो भन्ने पदको लोभ मलाई छैन ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>