समाचारबिहीबार, माघ ८, २०७१
संविधानसभा भवनभित्र सभासद् सुरक्षितः सचिवालय
संविधानसभा सचिवालयले संविधानसभा भवन र सभाकक्षभित्र कोही सभासद् पनि असुरक्षित नरहेको दावी गरेको छ । सचिवालयका प्रवक्ता मुकुन्द शर्माले ८ माघमा विज्ञप्ति जारी गरेर सभासद्लाई सुरक्षित रहने गरी सुरक्षा व्यवस्था मिलाइएको जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री लगायत संविधानसभाका केही सदस्यहरुबाट संविधानसभा भवन र सभाकक्षमा नै आपूmहरु लगायत माननीय सदस्यहरु असुरक्षित रहेको भनी चिन्ता व्यक्त भएकोमा विगतको घटनालाई ध्यानमा राखि संविधानसभा भवन र सभाकक्ष सहित माननीय सदस्यहरुको सुरक्षा व्यवस्था चुस्त, दुरुस्त रहेको र कुनै पनि माननीय सदस्यले असुरक्षित महसूश गर्न नपर्ने परिस्थिति सहितको प्रवन्ध मिलाईएको छ ।”
एमाओवादी, मधेशकेन्द्रित दल लगायतका सभासदले ५ माघ राति संविधानसभाभित्र हुल्दंगा गरेपछि प्रधानमन्त्री लगायत केही सभासदले सुरक्षा व्यवस्थाका लागि सचिवालयको ध्यानाकर्षण गराएका थिए ।
यसैबीच, सविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ र प्रधानमन्त्री सुशील कोइराला तथा एमाले अध्यक्ष एवम् एमाले संसदीय दलका नेता केपी शर्मा ओलीबीच ७ माघ साँझ संविधानसभा परिसरको सुरक्षा प्रवन्धका बारेमा छलफल भएको सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए ।
