समाचारबिहीबार, माघ ८, २०७१
जनतालाई स्पष्टिकरण देऊः सभाध्यक्ष नेम्वाङ
एमाओवादी र मधेश केन्द्रित दलहरुले दुई घण्टासम्म अवरोध जारी राखेपछि ८ माघमा बसेको संविधानसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
आज ८ माघमा संविधान जारी गर्न नसके पनि कमसेकम संविधान किन जारी हुन सकेन र अब कहिलेसम्म जारी गर्ने भन्ने बारे जनतालाई संविधानसभाबाटै स्पष्टिकरण दिन सभाध्यक्ष सुवास नेम्वाङले गरेको आग्रहलाई समेत बेवास्ता गर्दै एमाओवादी र मधेशकेन्द्रित दलहरुका सभासदले नारबाजी गरिरहेपछि अध्यक्ष नेम्वाङले बैठक आधा घण्टाका लागि स्थगित भएको घोषणा गरेका हुन् ।
अध्यक्ष नेम्वाङले संसदमा नारबाजी गरिरहेका एमाओवादी, मधेशी मोर्चा लगायतका दलका सभासदलाई यस्तो भनेः
“ यसरी बैठक अवरुद्ध भइरहँदा संविधान निर्माणको प्रक्रिया टुंगोमा नपुग्ने स्पष्ट छ । संविधान जारी गर्नका लागि माननिय सदस्यहरु तपाइँहरु रोष्टम घेर्न छोडेर कुर्सीमा बस्नु पर्छ । आज माघ ८ गते सिंगो मुलुक र विदेशी मित्रहरुले समेत हामीले ८ माघमा संविधान जारी गर्छौं भनेर गरेको हाम्रो प्रतिवद्धता सम्झना गरिरहेका छन् । आजै जनताले हामीलाई प्रश्न गरिरहेका छन् । तर हामी भने यो अवस्थामा जनतालाई के सन्देश प्रशारित गरिरहेका छौं ? जनताले के ठानिरहेका होलान ?
जब दलहरुबीच सहमति हुन सकेन त्यसपछि आजको दिनसम्म दलहरुले, ३१ दलका नेताहरुले यहाँ रोष्टममा उभिएर जनतालाई सहमति किन भएन, संविधान किन बनेन, कहिलेसम्म बन्छ भन्नु पर्छ । मैले यो आग्रह गरेको थिएँ ।
हामीले प्रयास गर्दागर्दै पनि सहमति भएन, आज हामी सबै मिलेर किन संविधान बनेन भनेर जनतालाई स्पष्टिकरण दिनुपर्छ । हामीप्रति जनताले के टिप्पणी गरिरहेका होलान म त्यो बुझ्न आग्रह गर्छु । यो स्थितिलाई टुंग्याउँ माननीय सदस्यहरु र जनतालाई भनौं आगामी यती दिनमा संविधान दिन्छौं भनेर । उभिइरहेका तपाइँ माननीय सदस्यहरुलाई कुर्सीमा जान आग्रह गर्दै छु ।
यो अहिलेको अवस्थामा यो संविधानसभाको कार्यसूचिलाई अगाडि बढाउन म उपयुक्त देखिरहेको छैन । यसअघि कहिल्यै पनि संविधानसभा बैठक अवरुद्ध भएको थिएन । व्यवस्थापिका संसदको बैठक लामो समयसम्म अवरुद्ध हुँदा पनि संविधानसभा बैठक अवरुद्ध गर्नु हुँदैन भन्ने हाम्रो मान्यता र चाहना हो । जनताको चाहना पनि त्यही हो । यो स्थिति ठिक होइन । यो नियमको भावना होइन । यो अभ्यास ठिक होइन । यसलाई अन्त गरौं ।”
