दलहरुबीच सहमति कायम गरी अवरुद्ध संविधानसभालाई खुलाउन भन्दै नयाँ प्रस्तावमाथि छलफल शुरु भएको छ ।
मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले दलहरुबीच छलफलका लागि राखेको प्रस्तावमा दलहरुबीच आजै सहमति गर्नेगरी छलफल अघि बढेको एमाले नेता रविन्द्र अधिकारीले बताए ।
उनका अनुसार निर्वाचन प्रणाली, न्याय प्रणाली र शासकीय स्वरुपमा ४ माघमा कायम भएको सहमति अनुसार जाने र संघीयतामा ६ देखि ९ प्रदेशसम्म उल्लेख गरेर मस्यौदा जारी गर्ने बारेमा छलफल भइरहेको छ ।
प्रदेशको नामाकंन प्रदेशसभाले र सीमाकंन आयोगबाट निर्धारण गरिने गरी प्रदेशको संख्यामा पनि एक महीनाभित्र सहमति कायम गर्ने गरी अघि बढ्न गच्छदारले प्रस्ताव गरेका छन् ।
