समाचारशनिबार, माघ १०, २०७१
चुरेमा ढुंगा बालुवा उत्खनन्को अनुमति दिनु दुखद: राष्ट्रपति
राष्ट्रपति रामवरण यादवले चुरे क्षेत्रमा पुनः बालुवा तथा ढुङ्गा गिट्टी निकाल्न अनुमति दिनु दुःखद भएको बतएका छन् ।
राष्ट्रिय वाणिज्य बैंकको स्वर्ण महोत्सवको १० माघमा उद्घाटन गर्दै राष्ट्रपति यादवले देशमा तीव्र जङ्गल फँडानी भइरहेको उल्लेख गर्दै चुरे बचाएर देशको प्राकृतिक सम्पदालाई जोगाउन सरकार समक्ष आग्रह गरे ।
उनले जङ्गल भएकै कारण ४० वर्ष पहिले तराई स्वर्ग भएको उल्लेख गर्दै थपे, “तराईमा त्यतिबेला पानीको कमी थिएन, अन्नको कमी थिएन । माछाको कमी थिएन । फलफूलको कमी थिएन । दही दूधको कमी थिएन । छ महिना गरिबले माछा खान्थे र उनीहरुले प्रोटिनको मात्रा पूरा गर्थे ।”
तर पछिल्लो समयमा जङ्गल सखाप भएको उल्लेख गर्दै उनले आज जङ्गल फँडानी, नदीको कटान, उर्वर भूमिको कटान र बस्ती डुबान भएकामा दुःख व्यक्त गरे । राष्ट्रपति यादवले जङ्गल, जमिन, उर्वर भूमि, डुबानबाट बचाउनका लागि चुरेलाई बचाउनुपर्नेमा जोड दिए ।
यादवले अहिले राष्ट्रिय वाणिज्य बैंकलाई कृषि, स्वास्थ्य, ऊर्जा क्षेत्रमा कर्जा लगानी विस्तार गर्न आग्रह गरे ।
उनले दैनिक १५/१६ सय मानिस रोजगारीका लागि विदेशिइरहेको र लगभग ३५ लाख युवा जनशक्ति बाहिरिएको देख्दा आफूलाई दुःख लागेको बताएका थिए ।
