समाचारआइतबार, माघ ११, २०७१
हामी प्रतिवाद गर्छौं, परिणामको जिम्मेवार कांग्रेस, एमाले र सभाध्यक्षः दाहाल
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाबाट प्रस्ताव निर्माण समितिको प्रस्ताव पारित भएको विरोधमा जनताका बीचमा गएर त्यसको प्रतिवाद गर्ने बताएका छन् ।
संविधानसभा बैठकबाट बाहिरिंदै दाहालले संविधानसभामा सभाध्यक्षले प्रस्ताव प्रस्तुत गरेर महाभूल गरेको दाबी गरे ।
“यसले संविधानसभा भित्र ठूलो विभाजन गर्दै सिंगो नेपाली समाजलाई दुई कित्तामा बाँड्ने काम गरेको छ,” उनले भने, “ देशका सबै उत्पीडित जाति, क्षेत्र, लिंग, वर्ग र समुदायको भावना अनुसार यो महाभूल आज भएको छ । सबै नियम परम्परा मिचिएको छ । ”
उनले सभाध्यक्ष पार्टीको प्रवक्ताको रुपमा प्रस्तुत भएको आरोप लगाउँदै संविधानसभाको औचित्यमाथि प्रश्न उठाउने काम भएको बताए ।
दाहालले अगडि भने, “हामी जनताको वीचमा गएर यसको प्रतिवदा गर्नेछौं, ‘ देशलाई द्वन्द्वमा धकेलेर निक्लने कुनै पनि परिणामको जिम्मेवार नेपाली कांग्रेस, एमाले र सभाध्यक्ष हुनु पर्दछ ।”
उनले सभाध्यक्षद्वारा दिइएको पाँचदिनको समयको पनि कुनै औचित्य नभएको बताएका थिए ।
