समाचारमंगलबार, माघ १३, २०७१
कमाइजति रक्सीमा
–श्रवणकुमार देव, राजविराज
सप्तरीको शम्भुनाथ नगरपालिका–१ स्थित शिवशक्ति इँटा उद्योगमा कार्यरत रामाधिन सदा (२९) ९ पुस बिहान मदिराले लट्ठ थिए (हेरौं तस्वीर)।
उद्योग परिसरमा झुप्रा बनाएर परिवारसहित बसेका अधिकांश मजदूरको हालत पनि रामाधिनजस्तै थियो।
महिलाहरू केही इँटा उद्योगमा काम गरिरहेका र केही पतिको सेवामा खटिएका थिए।
अघिल्लो दिन उद्योगले हप्ताभरि काम गरेको ज्याला बाँडेकाले उनीहरु काममा समेत गएनन्।
उद्योग सञ्चालक दुर्गानन्द साह भन्छन्, “यो आजको समस्या होइन, हप्ता पाउने बित्तिकै धेरै मजदूर काममा आउँदैनन्, यसैगरी बस्छन्।”
उद्योगमा कार्यरत करीब २०० मजदूरमध्ये अधिकांश सप्तरी र उदयपुरका सदा (मुसहर) समुदायका छन्। मजदूरी गरेर कमाएको अधिकांश रकम उनीहरूले रक्सीमै सिध्याउने गरेको साह बताउँछन्।
यो क्षेत्रका धेरैजसो इँटा उद्योगमा काम गर्ने मजदूरको अवस्था योभन्दा फरक छैन। सप्तरीकै तेरहौता–५ स्थित राज इँटा उद्योगमा कार्यरत ललकु सदा (३७) भन्छन्, “काम गर्दा थकाई लाग्छ, अनि रक्सी नपिएर हुन्न।”
सप्तरीका ५० भन्दा बढी इँटा उद्योगमा काम गर्ने मजदूरमध्ये धेरै सदा समुदायका छन्।
कमाएको पैसा रक्सीमा सिध्याइरहेका उनीहरू बालबालिकालाई विद्यालय पठाउँदैनन्। शिवशक्ति इँटा उद्योगमा कार्यरत मजदूरका करीब ८० बालबालिका छन्, तर कोही पनि विद्यालय जाँदैनन्।
करीब ८ महीना इँटा उद्योगमा बिताउने कामदारहरू स–परिवार त्यहीं बस्छन्। “इँटा उद्योगमा काम गर्ने मजदूरका बालबालिका विद्यालय गइरहेको पाएनौं” महिला तथा बालबालिका कार्यालय सप्तरीकी अधिकृत पुनम चौधरी भन्छिन्।
पूर्वसभासद् असर्फी सदा मुसहर समुदाय शिक्षा केही होइन भन्ने मानसिकताबाट बाहिर निस्कन नसकेकाले नै पछाडि परेको बताउँछिन्। उनी भन्छिन्, “हाम्रो समुदायमा चेतना जगाउने काम अपरिहार्य भइसकेको छ।”
सप्तरीका इँटा उद्योगमा काम गर्ने बालबालिका पनि धेरै छन्। कोही फुर्सदको समयमा पढाइ खर्च जुटाउन इँटा उद्योगमा काम गर्न आएकाहरू छन् भने धेरै चाहिं घरमा स्याहार नपाएका, बाबुले दोस्रो बिहे गरेका जस्ता समस्या भोगेका तथा बाबुआमासँगै आएकाहरू छन्।
“इँटा उद्योगमा काम गर्ने मजदूर, बालबालिका र किशोरकिशोरीको अवस्था भयावह देखिन्छ” जिल्ला बाल कल्याण समितिका सदस्य वैद्यनाथ झा भन्छन्, “अभिभावकले सबै पारिश्रमिक रक्सीमा उडाउँछन्, बिचल्ली बच्चाबच्चीको भएको छ।”
