समाचारमंगलबार, माघ १३, २०७१
सीके राउतलाई भेटेका हौंः युरोपियन युनियन
नेपालस्थित युरोपेली युनियन र नर्वेका राजदूतहरुले स्वतन्त्र मधेश राष्ट्रको माग गर्दै आएका सीके राउतलाई भेटेको स्वीकारेका छन् । युरोपियन युनियनको नियोगले १३ माघमा विज्ञप्ति निकालेर सीके राउतसँग आफूहरुले भेटघाट गरेको स्वीकारेका छन् ।
सीके राउत पक्राउ परेपछि मानवअधिकारको विषयलाई लिएर छलफल भएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, “युरोपियन युनियन र नर्वे विधिको शासन, नागरिक अभिव्यक्ति स्वतन्त्रताको अधिकारप्रति प्रतिवद्ध छ, सोही सन्दर्भमा सीके राउतसँग पनि भेट गरेको र त्यसबारे नेपाली अधिकारीहरुसँग पारदर्शी कुराकानी भएको छ ।”
सीके राउतसँग गरिएको छलफल र भेटघाटलाई उनको राजनीतिक एजेण्डा तथा क्रियाकलापलाई युरोपेली देशहरुले समर्थन गरेको रुपमा बुझ्नु आवश्यक नरहेको विज्ञप्तिमा उल्लेख छ ।
