समाचारबुधबार, माघ १४, २०७१
प्रक्रियाबाट पछि नहट्ने नेता नेपालको दृढता
नेकपा एमालेका नेता माधवकुमार नेपालले विपक्षी दल प्रक्रियामा नआए उनीहरूको राजनीतिक अस्तित्व नै समाप्त हुने दाबी गरेका छन् ।
अनेरास्ववियु (मधेशी विद्यार्थी केन्द्रीय सम्पर्क कमिटी) को चौथो राष्ट्रिय सम्मेलनमा बोल्दै नेता नेपालले प्रक्रियाबाट फर्कनुभनेको विधिको शासनको अपमान गर्नु हो भन्दै आफूहरू अब प्रक्रियाबाट कुनै पनि हालतमा पछि नहट्ने दृढता व्यक्त गरे ।
उनले मधेशी विद्यार्थीले पार्टीको सङ्गठन विस्तारमा योगदान पुर्याए जस्तै मधेशमा व्याप्त विभेद र दाइजो प्रथा अन्त्यका लागि पनि क्रियाशील हुनुपर्ने बताएका थिए ।
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विभिन्न मधेस केन्द्रित दललगायतले मधेशमा उठाएका जातीय तथा क्षेत्रीय मुद्दा मधेशी जनताको हितमा नरहेकाले अब मधेशी विद्यार्थीले त्यस्ता भ्रम अन्त्य गर्न ठोस कार्यक्रम लिएर स्थानीय जनतासम्म पुग्नुपर्ने सुझाव दिए ।
पार्टीका नेता नगेन्द्र चौधरी र डा वशीधर मिश्रले विगतमा जनताले गरेका सङ्घर्ष तथा आन्दोलनको उपलब्धिलाई रक्षा गर्न चाँडो संविधान जारी गर्नुपर्ने बताए ।
अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्लले तराई, पहाड र हिमाल नछुट्टिने गरी सङ्घीयता बनाउनुपर्ने धारणा राखेका थिए ।
