समाचारशुक्रबार, माघ १६, २०७१
धनकुटामा ३० लाखको धनमाल लुटपाट
धनकुटाको अर्खौले जितपुरमा नकावधारी हतियारसहितको लुटेरा समुहले ३० लाख बरावरको धनमाल लुटपाट गरेको छ ।
अर्खौलेजितपुर–६ आन्द्रुङ्गका नारायण भनिने शिवशंकर लिम्बुको घरबाट नकावधारी लुटेरा समूहले १५ माघ राति १० बजे नगद रु. ३ लाख र २७ लाख वरावरको बहुमुल्य रुद्राक्ष लुटपाट गरेको हो ।
घरमा आमा–छोरी मात्र भएको वेला करिव १०÷१२ जनाको समूहमा आएका लुटेराहरुले पेस्तोल र खुकुरी देखाउँदै नगद र रुद्राक्ष लुटपाट गरेको प्रहरीले जनाएको छ । रुद्राक्षको ब्यापार गर्दै आएका लिम्बुको घरमा रहेको २ देखि १९ मुखेसम्मका बहुमुल्य रुद्राक्ष लुटेराहरुले लगेका छन् ।
गुहार माग्ने क्रममा लिम्बुकी आमा र बहिनीलाई कुटपीट गरेर लुटेराले २ सेट मोवाइल पनि लगेको छिमेकी युवराज पौडेलले जानकारी दिए ।
जितपुर प्रहरी चौकीबाट राति नै घटनास्थलमा प्रहरी पुगेको भएपनि लुटेरा समूहको पहिचान हुन सकेको छैन ।
उक्त घटना पश्चात १६ माघ विहानै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट डिएसपी ध्रुवराज राउतको नेतृत्वमा प्रहरी घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी प्रदिपकुमार श्रेष्ठले बताए ।
अहिले जिल्लाका सिमावर्ती क्षेत्र लगायत आसपासका सवै क्षेत्रमा प्रहरी परिचालन गरेर लुटेराको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
उक्त स्थानमा पाँच दिन अगाडि मात्र एक बालिकालाई अपरिचित व्यक्तिले आक्रमण गरी गम्भीर घाईते बनाएका थिए ।
सन्तोष रुचाल, धनकुटा
