समाचारशनिबार, माघ १७, २०७१

फकाउँदै सत्ता पक्ष, घुक्र्याउँदै विपक्ष

हिमालखबर

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले प्रश्नावली समितिको घोषणा गर्नुभएको आज ५ दिन भए पनि दलहरूबीच अझै पनि कुनै सहमति हुन सकेको छैन।

५ दिनभित्रमा सहमति भएको अवस्थामा प्रश्नावली समितिको काम नै नहुने अवस्था रहे पनि सहमति नभएकाले अब प्रक्रियातर्फ अघि बढ्नुको विकल्प बाँकी नरहने अवस्था सिर्जना भएको छ।

यसबीचमा प्रमुख सत्तारूढ घटक नेपाली कांग्रेस र नेकपा एमालेले विपक्षी एमाओवादीलाई सँगसँगै फकाउने र धम्क्याउने काम गर्दै आएका छन् भने एमाओवादीले भने घुक्र्याउने काम गर्दै आएको छ।

प्रधानमन्त्री सुशील कोइराला एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई वार्तामा बस्नका लागि आग्रह गर्न शुक्रबार दाहाल निवास लाजिम्पाट पुगेका थिए । वार्तामा बस्नका लागि चारपटक टेलिफोन गर्दा समेत दाहालले बहुमतीय प्रक्रियाको प्रस्ताव नसच्याएसम्म वार्तामा नबस्ने अडान लिएपछि प्रधानमन्त्री कोइराला निवासमै गए ।

संविधानसभाका अध्यक्ष नेम्वाङले अगाडि बढाएका बहुमतीय प्रक्रिया फिर्ता नलिएसम्म कुनै वार्ता र छलफलमा नबस्ने निर्णय गरेको एमाओवादीलाई फकाउन प्रधानमन्त्री कोइरालाले पहल गरे । सरकार र कांग्रेस–एमालेले औपचारिक रूपमा वार्ताका लागि आह्वान गरे पनि एमाओवादी हातमा तरबार लिएर बोलाइएको वार्तामा जानुको कुनै अर्थ नभएको बताउँदै आएको छ।

वार्ता र संवादमै नबस्ने घोषणा गर्दै दुईमहिने आन्दोलनको कार्यक्रम घोषणा गरेको एमाओवादी मोर्चाका संयोजकसमेत रहेका दाहाललाई निवासमै पुगेर वार्तामा बस्न प्रमले आग्रह गरे ।

शुक्रबार लैनचौरमा सहिदप्रति श्रद्धाञ्जली दिएपछि प्रधानमन्त्री कोइराला सीधै दाहाललाई भेटन निवासमा गए। झन्डै आधा घण्टा भएको छलफलमा प्रधानमन्त्रीले संविधान निर्माणका लागि वार्ता र छलफलमा आउन आग्रह गरेका थिए ।

जवाफमा दाहालले हातमा तरवार लिएर कुन सहमति र वार्ताको कुरा गरिरहनुभएको छ भन्दै प्रधानमन्त्री कोइरालालाई प्रतिप्रश्न गरे ।

आन्दोलनले मुलुकलाई निकास नदिने भन्दै प्रधानमन्त्री कोइरालाले सहमतिमा आई संविधान निर्माणमा लाग्न आग्रह गरे ।

भेटवार्तामा प्रधानमन्त्री कोइरालाले सहमति, संवाद र वार्ताको माध्यमबाट समस्या समाधान गरी मुलुकलाई संविधान दिनुपर्ने भएको हुँदा सहमतिमा आउन दाहाललाई आग्रह गरेका थिए । प्रधानमन्त्रीले सहमतिका लागि वार्ता जारी राख्ने भन्दै विपक्षको तर्फबाट प्रश्नावली समितिमा रहने सदस्यको नाम दिन पनि आग्रह गरे ।

जवाफमा अध्यक्ष दाहालले सभाध्यक्ष नेम्वाङले शुरू गरेको प्रक्रिया नरोकिएसम्म वार्तामा बस्ने वातावरण तयार नभएको भन्दै तत्काल वार्तामा आउन नसक्ने बताउनुभएको प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले बताए ।

शनिबार प्रस्ताव समितिको बैठक बस्ने भएकाले त्यसअघि नै सहमतिको प्रयासमा प्रधानमन्त्रीले अन्तिम प्रयास गरे। बिहीबार राष्ट्रपतिसँगको भेटमा संविधानसभाका अध्यक्ष नेम्वाङले प्रस्ताव समितिको बैठक बस्नुअघि नै दलहरूबीच सहमति भए प्रस्ताव समिति स्वतः भंग हुने बताए ।

नेपाल समाचारपत्रबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>