समाचारशनिबार, माघ १७, २०७१
‘विपक्षी मोर्चाको सहमतिमै संविधान आउछ’
देब पचभैया, पाल्पा
एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले विपक्षी मोर्चाको सहमति बिना संविधान नआउने बताएका छन् ।
प्रेस चौतारी नेपाल पाल्पाले १७ माघमा आयोजना गरेको पत्रकार भेटघाटमा पाण्डेले वार्ता र सहमतिबाटै संविधान आउने बताए । उनले भने, ‘‘संविधान निर्माण प्रक्रियामा विपक्षीहरु पनि सहभागी हुनेमा म विश्वस्त छु ।’’
उनले दीर्घकालीन संविधान अस्त्र वार्ता र सहमति नै भएको बताए । पाण्डेले विपक्षी मोर्चासँग सहमति गरेर मात्रै संविधान निर्माणको प्रक्रिया अघि बढाउने बताए ।
उनले निर्वाचन प्रणाली, न्याय प्रणाली र शासकीय स्वरुपमा सहमति कायम भइसकेकाले अव संघीयतामा पनि दलहरु लचक हुनुपर्ने बताए । नेता पाण्डेले भने, ‘‘संवैधानिक अदालत, मिश्रित निर्वाचन प्रणाली, सुधारिएको संवैधानिक व्यवस्था लगायतमा लगभग सहमति जुटेको छ, अव संघीयतामा पनि छलफल गर्नुपर्छ ।’’
संविधान ल्याउनकै लागि पहिलो संविधानसभामा एमाओवादीसँग लामो समय सहकार्य गरेको सम्झदै उनले भने, ‘‘अहिले एमाले संविधान ल्याउनकै लागि कांग्रेससँग नजिक भएको छ, एमाओवादी पनि सहमतिमा आउनुपर्छ ।’’
उनले एमाले संविधान निर्माण दृढ रहेको जनाउँदै त्यसमा साथ दिन अन्य पक्षसँग पनि आग्रह गरे । नेता पाण्डेले भने, ‘‘बिना सहमति संविधान बनाउने पक्षमा छैनौं तर मुलुकलाई लामो समय संविधानहिन अवस्थामा राख्न सकिदैन । सहमति नभए बहुमतबाट भएपनि संविधान ल्याउनुपर्छ ।’’
उनले एमाओवादी मोर्चाले सहमति कायम भएको विषयमा सहमति जनाएर संघीयतामा मतदानमा जानु उपयुक्त हुने बताए ।
५ माघमा संविधान निर्माण प्रक्रियामा असहमति जनाउँदै संविधानसभामा ताेडफाेड गरेपछि लगातार सत्ता पक्षसँग असहमति जनाउँदै सडक अान्दाेलनतिर लागेका छन् ।
यसैबीच, विपक्षीकाे अवराेधबीच बनेकाे प्रश्वावली समितिकाे बैठक विपक्षी माेर्चाकाे अनुपस्थितिमै बस्दैछ ।

