समाचारशनिबार, माघ १७, २०७१
काम थाल्यो प्रश्नावली समितिले
संविधानसभाको दुई तिहाई मतबाट पारित प्रश्नावली समितिले संविधान निर्माणको प्रक्रिया अघि बढाएको छ ।
११ माघमा गठीत यो समितिले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दिएको समय अनुसार नै काम अघि बढाएको छ ।
समितिको १७ माघमा बसेको बैठकले एमाओवादी मोर्चालाई नामावली पठाइदिन आग्रह गर्दै काम अघि बढाएको हो । ७३ सदस्यीय समितिमा एमाओवादी मोर्चाले नाम नपठाएपछि ४९ सदस्य बैठकमा सहभागी थिए ।
बैठकले कार्यविधि तय गर्न सात सदस्यीय समिति गठन गरेको सभासद् शेरधन राईले बताए । उनका अनुसार समितिको संयोजक रमेश लेखक चयन भएका छन् ।
सदस्यहरुमा भानुभक्त ढकाल, दिपक बोहरा, दिलनाथ गिरी, श्रीमाया थकाली, किरण यादव र अतहर कमाल मुसलमान छन् । उनीहरुले १८ माघ दिउँसो १ बजे बस्ने बैठकमा समितिको कार्यविधि पेश गर्नुपर्नेछ ।
बैठकको अध्यक्षता जेष्ठ सदस्य कुलबहादुर गुरुङले गरेका थिए ।
