समाचारआइतबार, माघ १८, २०७१
आन्दोलन गर्ने एमाओवादी निर्णय
एमाओवादीले देशव्यापी रुपमा आन्दोलन चर्काउने निर्णय गरेको छ । आन्दोलनका लागि जिम्मेवारी तोकेरै एमाओवादीले आन्दोलन चर्काउने निर्णय गरेको हो ।
पार्टी कार्यालय पेरिसडाँडामा १८ माघमा केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आन्दोलन घोषणा गरेका हुन् । उनले देशव्यापी आन्दोलन चलाउन जिम्मेवारी तोकिएको बताए ।
एमाओवादीले पूर्व क्षेत्रमा नारायणकाजी श्रेष्ठ, मध्य क्षेत्रमा अध्यक्ष दाहाल र पश्चिममा नेता बाबुराम भट्टराईलाई कमाण्डर तोकेको छ ।
एमाओवादी अध्यक्ष दाहालले महासचिव कृष्णबहादुर महरा, सचिवद्वय टोपबहादुर रायमाझी र वर्षमान पुनलाई केन्द्रीय कार्यालय समन्वय गरी संचालन गर्ने जिम्मेवारी तोकिएको जानकारी दिए । उनका अनुसार एमाओवादीले ७५ जिल्लामा आन्दोलन परिचालन समिति बनाउने छ ।
पत्रकार सम्मेलनमा उनले भने, “कांग्रेस–एमालेले जबर्जस्ती प्रक्रिया शुरु गरेपछि आन्दोलनमा जान बाध्य भएका हौं ।” उनले प्रक्रिया नरोकेसम्म वार्तामा नबस्ने बताए ।
तत्कालै संविधानसभा नछाड्ने बताएका उनले कांग्रेस–एमालेले एकलौटी गरे भने नफर्कन पनि सक्ने चेतावनी दिए ।
