समाचारआइतबार, माघ १८, २०७१
रु.३०० ले लियो ज्यान !
–देब पचभैया, पाल्पा
पाल्पा सोमादी–८ का अनिल भण्डारीको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हत्याका मुख्य योजनाकारसहित तीन जनालाई प्रहरीले १८ माघमा सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा मुख्य योजनाकार नवलपरासी देबगाउँ–८ का २० वर्षीय सदाम हुसेन अन्सारी, सहयोगी नवलपरासी देबगाउँ–४ का १७ वर्षीय मोहरम अन्सारी र सदामका भाइ सहमान भन्ने सत्तर अन्सारी छन् ।
रु.३०० लेनदेनको विषयमा भएको विवादले हत्याको रुप लिएको प्रारम्भिक अनुसन्धानबाट फेला परेको पाल्पाका प्रहरी नायव उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।
हत्या गरिएका अनिल र हत्याका आरोपी सदामबीच २६ पुसमा तास खेल्ने क्रममा रु.३०० लेनदेनको विषयमा झगडा भएको थियो । त्यतिबेला अनिलले सदामलाई तीन झापड हानेका थिए ।
त्यसकै बदला लिन सदामले हत्या योजना बनाएको बुझिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार १२ माघ साँझ साढे सात बजेतिर अनिललाई आफ्नो कोठामा तास खेल्न बोलाएर सदामले हत्या गरेका हुन् ।
पाल्पाको तानसेनस्थित जिल्ला अस्पताल छेउको झाडीमा १५ माघमा हत्या गरी फालिएको अवस्थामा अनिलको शव फेला परेको थियो ।
पत्रकार सम्मेलनमा सदाम हुसेनले आफूले अनिललाई मार्ने योजना बनाएरै हत्या गरेको बताए । नवलपरासी घर भई तानसेनमा मोटरसाईकल वर्कशप र ग्यारेजमा काम गर्दे आएका सदाम, सहमान र मोहरमलाई प्रहरीले घरमै गएर पक्राउ गरेको हो ।
मृतक अनिलको मोबाइल साथमै लिएर गएका सदामलाई ट्रयाकिङको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । हत्या आरोपीहरु र अनिलबीच पहिलेदेखि नै राम्रो चिनजान रहेको अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाइ छ ।

