समाचारसोमबार, माघ १९, २०७१
धादिङमा आगलागी हुँदा चार जनाको मृत्यु
सानुबाबु तिमिल्सिना, धादिङ
धादिङको धुषा गाविस–१ चरौदी घुम्तीस्थित एक घरमा आगलागी हुँदा जलेर चार जनाको मृत्यु भएको छ । १९ माघ बिहान दुई बजेतिर विद्युत् सर्ट भएर रामप्रसाद थपलियाको घरमा आगलागी भएको हो ।
आगलागीमा परी रामप्रसादका ४५ वर्षीय छोरा किशोरचन्द्र थपलिया, किशोरचन्द्रकी २७ वर्षीया छोरी योजना थपलिया, पोखरा निवासी ३२ वर्षीय ज्वाईँ अनिल घर्ती र ४ वर्षीया नातिनी रोजेट घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
राति सुतिरहेको अवस्थामा आगलागी हुँदा कोठामा रहेका सबैको जलेर घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।
आगलागीमा परी किशोरचन्द्रकी श्रीमती कर्णकुमारी थपलिया भने गम्भीर घाइते भएकी छन् । उनलाई उपचारको लागि काठमाडौं लगिएको छ ।
आगलागीले घर पुरै क्षती भएको छ भने घरमा रहेका, नगद रुपैंया र लत्ताकपडा समेत गरी रु. ५० लाख भन्दा बढिको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
