समाचारबिहीबार, माघ २२, २०७१
एमाओवादी मोर्चाद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
संविधानसभा छोडेर सडकमा उत्रिएको एमाओवादी र मधेशकेन्द्रित दलहरुको मोर्चाले २९ माघदेखि २९ फागुनसम्म आन्दोलनका कार्यक्रम तय गरेको छ ।
२२ माघमा बसेको मोर्चाको बैठकले २९ माघमा देशभर कालो झन्डा फहराउने, २ फागुनमा संयुक्त कार्यकर्ता भेला गर्ने, ३ गते देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने र ९ गते देशभर प्रदर्शनको कार्यक्रम तय गरेको मोर्चाका प्रवक्ता प्रमेबहादुर सिंहले बताए ।
अन्दोलनलाई सशक्त बनाउन भन्दै मोर्चामा आवद्ध दलका ३५ नेतालाई कार्यकर्ता प्रशिक्षणका लागि विभिन्न जिल्लामा खटाउने निर्णय पनि मोर्चाले गरेको छ ।
बैठकले पुष्पकमल दाहाललाई(काठमाडौं, बाबुराम भट्टराईलाई नेपालगञ्ज, महन्थ ठाकुरलाई भैरहवा, उपेन्द्र यादवलाई विराटनगर, राजेन्द्र महतोलाई जनकपुर, विजय गच्छदारलाई राजविराजमा कार्यकर्ता प्रशिक्षणको जिम्मेवारी दिएको छ ।
एकसभासद बराबर २० हजार उठाउने
मोर्चाले आन्दोलनलाई सशक्त बनाउन प्रत्येक सभासदबाट २०र२० हजार रुपैंया उठाउने निर्णय पनि गरेको छ।
बैठकले पहिलो चरणको आन्दोलनलाई २५ लाख रुपैयाँ आवश्यक पर्ने भन्दै प्रति सभासद बीस हजार रुपैयाँ र संविधानसभामा प्रतिनिधित्व नभएका दलहरुबाट स्वेच्छिक सहयोग संकलन गर्ने भएको हो ।
गठबन्धनमा १ सय ४७ सभासद छन्।
