समाचारशुक्रबार, माघ २३, २०७१
अपहरणमा परेका व्यवसायीको ६ दिनपछि उद्दार
अपहरणमा परेका झापाका दुई जना व्यवसायीलाई प्रहरीले सकुशल उद्दार गरेको छ । १८ माघमा झापा काँकरभिट्टाबाट अपहरणमा परेका व्यवसायीलाई प्रहरीले २३ माघमा उद्दार गरेको हो ।
अपहरणमा परेका व्यवसायीहरु सुनिल अग्रवाल र बजरंग बिन्दललाई झापाको धरमपुर–२ बाट उद्दार गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिए ।
उनीहरुलाई उद्दार गर्ने क्रममा प्रहरी र अपहरणकारीबीच भिडन्त समेत भएको थियो । भिडन्त हुँदा प्रहरीको गोली लागेर एक अपहरणकारी घाइते भएका छन् ।
अपहरणमा संलग्न भारत आसामका दुई सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आसामका राजकुमार थापा र फौद तामाङ सहित बजरंग पन्सारी, केशव फूयाँल र भुवन कार्की छन् ।
फौद तामाङ भने घाइते छन् । उनीहरुको साथबाट दुई थान पेस्तोल र १० राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गोपाल गडतौला, झापा
