समाचारशुक्रबार, माघ २३, २०७१
सङ्घीयता र शासकीय स्वरुपका विषयमा प्रश्नावली
संविधानसभा अन्तर्गतको प्रस्ताव निर्माण समितिले व्यवस्थापकीय अङ्गको स्वरुप निर्धारण समिति र संवैधानिक निकायको स्वरुप निर्धारण समितिको प्रतिवेदनका आधारमा प्रश्नावली तयार पारेको छ । समितिको २३ माघमा बसेको संविधानसभाको विवादित विषयहरुमध्ये दुईवटा विषयमा प्रश्नावली बनाएको हो ।
संविधान लेखनमा देखिएका विवादित विषयमा प्रश्नावली बनाउनका लागि गठित समितिमा प्रश्नावली उपसमितिले तयार पारेको प्रतिवेदन पेश भएको छ । सभासद् अग्नि खरेल नेतृत्वको उपसमितिले पेश गरेको प्रतिवेदनमाथि छलफल भएको र सोही आधारमा प्रश्नावली तयार पारिएको हो ।
यसअघि समितिले मौलिक हक, संविधान संशोधन र प्रस्तावनाका विषयमा प्रश्नावली बनाइसकेको छ । मुख्य विवाद भएका सङ्घीयता, शासकीय स्वरुप र न्यायप्रणाली जस्तो विषयको प्रश्नावली बनाउने काम अझै थालिएको छैन ।
सबै विषयलाई एकमुष्ट गर्दै प्रश्नावली बनाइएको र संविधानसभाले दिएको समयावधिभित्रै प्रमुख विवादित विषयलाई सूत्रबद्ध गर्ने भएको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभासद् अग्नि खरेलले संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दल, सभासद्हरुले व्यक्त गरेको धारणा, औपचारिक तथा अनौपचारिक रुपमा आएका विभिन्न सरोकार भएका व्यक्ति तथा निकायको मतलाई केन्द्रमा राखेर प्रश्नावली बनाएको जानकारी दिए ।
उनले प्रश्नावली समितिमा सहभागी भएका दलहरुले त समितिमा आफ्नो धारणालाई औपचारिक रुपमा राख्ने अवस्था रहेको भए पनि एमाओवादी सहित संविधानसभामा प्रतिनिधित्व गर्ने अन्य दलको धारणालाई पनि ध्यान दिइएको बताए ।
रासस
