समाचारशनिबार, माघ २४, २०७१
एमाओवादीले एकल जातीय पहिचान भनेको छैन: दाहाल
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बहुलवाद समाज भएको नेपालमा कुनै एक जातिको पहिचान झल्कने गरी सङ्घीय राज्य बनाउनुपर्छ भनेर एमाओवादीले कहिल्यै नभनेको दाबी गरेका छन् ।
इटहरीमा २४ माघमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले बहुलवादी समाज भएकाले सबै जातजाति, भाषा, धर्म, संस्कार, लिङ्गको पहिचान हुनुपर्छ भन्ने आफ्नो पार्टीको दृष्टिकोण रहेको बताए ।
उनले भने, ‘‘विभिन्न जातजाति, धर्म, संस्कृति, लिङ्ग भएको समुदायको बसोवास रहेको बहुलवादी समाज भएकाले हामीले सबै जाति, भाषा, धर्म र संस्कृति भएका मानिसको पहिचान हुनुपर्छ भन्ने कुरा उठान गर्दै आएको छौँ । एक जातीय पहिचान भएको सङ्घीय राज्यको पक्षमा भने एनेकपा माओवादीले कहिल्यै वकालत गरेको छैन ।’’
दाहालले विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानमा नै जातीय पहिचान सङ्घीयताजस्ता बुँदालाई स्पष्टसँग उठान भएको तर नेकपा एमालेले बहुपहिचानको कुरा उठाएर बहुपहिचानको मुद्दालाई छोडेको आरोप लगाए ।
कांग्रेस-एमालेले संविधानसभालाई संसद्मा रुपान्तर गर्ने दुस्प्रयासलाई निरन्तरता दिने दम्भ देखाइरहेको आरोप लगाउँदै दाहालले आफूहरुलाई वाध्य भएर उनीहरुको दम्भका विरुद्ध अभियान चलाउनु परेको बताए ।
उनले विस्तृत शान्ति सम्झौता र सहमतिका आधारमा राजनीतिक दलहरुबीच संवाद र सहमति बनाएर अघि बढ्ने परिस्थितिको निर्माण गर्न सकिने सम्भावना रहेको धारणा व्यक्त गरेका थिए ।
रासस
