समाचारआइतबार, कार्तिक ५, २०६९
प्रख्यात फिल्म निर्देशक यश चोपडाको निधन
पछिल्लो केही समयदेखि विरामी चोपडाको मृत्युले बलिउड लगायत भारतीय फिल्मका प्रशंसकहरुमा शोक छाएको छ ।
२७ सेप्टेम्बर १९३२ मा लाहोर (हाल पाकिस्तान) मा जन्मेका यश चोपडाले भारतीय फिल्म उद्योगमा ‘किंग अफ रोमान्स’ को छवी बनाएका थिए । कयौं सफल फिल्म निर्देशन गरेका यश चोपडाले केही दिन पहिले शाहरुख खान अभिनित फिल्म ‘जब तक है जान’ पछि फिल्म निर्देशनबाट सन्यास लिने घोषणा गरेका थिए ।
आफ्नो ८० औं जन्मदिनमा ‘जब तक है जान’ आफ्नो निर्देशनको अन्तिम फिल्म हुने घोषणा गरेका चोपडा उक्त फिल्म प्रदर्शन हुनुभन्दा पहिले नै यो संसारबाट विदा भए ।
माला सिन्हा अभिनित फिल्म ‘धुलका फूल’ बाट निर्देशन शुरु गरेका चोपडाले अमिताभ बच्चन अभिनित ‘दिवार’ को सफल निर्देशन गरेका थिए । एकपछिअर्को गर्दै कैयौं प्रेमकथामा आधारित फिल्म निर्देशनमा सफल भएको चोपडाले सिलसिला, चाँदनी, लम्हें, वीरजारा जस्ता धेरै फिल्मको निर्देशन गरेका छन् ।
