समाचारमंगलबार, माघ २७, २०७१
गाडी भाडा घटाउन संसद्काे निर्देशन
व्यवस्थापिका–संसद्को विकास समितिले पेट्रोलियम पदार्थमा निरन्तर मूल्य ओरालो लागेकाले सार्वजनिक यातायातको भाडा दुई दिनभित्र घटाउन निर्देशन दिएको छ ।
समितिको सिंहदरबारमा बसेको बैठकपछि पेट्रोलियम पदार्थमा निरन्तर मूल्य समायोजन भए पनि जनताले अनुभव गर्नेगरी भाडा घट्न नसकेकाले भाडा घटाउन भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, यातायात व्यवस्था विभागलाई निर्देशन दिएको हो ।
वैज्ञानिक भाडादर तय गर्न, कायम भएको दरलाई अक्षरस कार्यान्वयन गर्न, उपभोक्ता, विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिकको भावनाअनुसार सवारीसाधन सञ्चालन गर्न समेत समितिले आग्रह गरेको छ ।
भाडादर कायम गर्ने सम्बन्धमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रहरुले के कस्तो प्रणाली अपनाएका छन् त्यसको समेत अध्ययन गरी दुई महिनाभित्र समितिलाई जानकारी गराउन आग्रह गरेको समितिका सभापति रवीन्द्र अधिकारीले बताए ।
यसैबीच, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विमलेन्द्र निधिले देशभरकाे गाडी भाडादर घटाउने तयारी भइरहेकाे बताए । उनका अनुसार काठमाडौँ उपत्यकामा २.३२ प्रतिशत, ट्याक्सीमा १.६२ प्रतिशत, ट्रक र लामो दूरीको सवारीसाधनमा पाँच प्रतिशत भाडा घटाउने तयारी भइरहेकाे छ ।
